काठमाडौं, असार १९ । कुस्ती संघको पुनर्गठन भएको विषयलाई लिएर नेपाल कुस्ती संघले आपत्ति जनाएको छ । यहि असार १७ गते कुस्ती संघको पुनर्गठनसम्बन्धमा प्रकाशित समाचारलाई लिएर नेपाल कुस्ती संघ नेपालले प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएको हो ।
विज्ञप्तिमा अनधिकृत रुपमा अस्तित्वमा रहेका भनि प्रचारबाजी गर्दै आएका राजमोहम्मद अन्सारीलाई तथाकथित पुनर्गठन गरिएको भनिएको कुस्ती संघका अध्यक्ष बनाउनु कानुनी राज्य र लोकतान्त्रिक प्रक्रियाको बर्खिलाप भएको जनाइएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘जब कि मिति २०७२।०२।२५ मा विधिवत् रुपमा साधारणसभा मार्फत निर्वाचन सम्पन्न गरी पुनः साधारणसभाको लागि स्वीकृति माग गर्दा गर्दै आनाकानी र सम्पर्कमा आउन समेत नचाहने सदस्य सचिव केशवकुमार बिष्टले आफ्नो कार्यकालको अन्तिम दिन संघ पुनर्गठनको पत्रमा हस्ताक्षर गरी विवादलाई समाधानतर्फ नभई अझ विवादमा मुछ्न चाहेको प्रष्ट रुपमा थाहा हुन्छ ।’
त्यसैगरी, लिखित सहमति गरेको भनि मिडियामा प्रचारबाजी गरेकोप्रति नेपाल कुस्ती संघका अध्यक्ष नारायणदेव राणाले विज्ञप्तिमार्फत घोर आपक्ति जनाएका छन् । साथै, अध्यक्ष राणाले लिखित सहमतिमा आफूले हस्ताक्षर नगरेको र त्यस्तो सहमति भएको रहेछ भने सार्वजनिक गर्न राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनालाई आग्रहसमेत गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले यहि असार १६ गते पत्रकार सम्मेलनमार्फत १८ सदस्यीयसहितको राज महम्मद मिया अन्सारीको अध्यक्षतामा नेपाल कुस्ती संघ पुनर्गठन गरेको थियो । उक्त पुनर्गठित १८ सदस्यीय केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा समिम मिया अन्सारी, उपाध्यक्षयमा रामलोचन ठाकुर, मनोहर रायमाझी र बसन्त भण्डारी, महासचिवमा रीता कोइराला, सचिवमा साहिल अन्सारी तथा कोषाध्यक्षमा जफ्रुल्ला मिया मंसुरी रहेका छन् । त्यस्तै, सदस्यद्वयमा ललनप्रसाद यादव, जिनत अन्सारी, डा.प्रमाचन्द सेन, सानु लामा, नेसार खान, जुनेद इद्रिसी, सलामत राइन, नन्दलाल यादव र राखेपबाट दुई प्रतिनिधि छन् ।