काठमाडौं, असार १८ । आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गतको सेमिफाइनलको बाँकी दुई स्थानका लागि न्यूजिल्यान्ड, इंग्ल्यान्ड र पाकिस्तान भिड्ने भएका छन् । अन्तिम चरणको खेलअघि अस्ट्रेलिया र भारतले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरिसकेका हुनाले अब दुई स्थानका लागि तीन टिम भिड्ने भएका हुन् ।
आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत आठौं चरणका खेल सकिएका छन् । अफगानिस्तान, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश प्रतियोगिताबाट बाहिरिसकेका छन् । अब सेमिफाइनलको बाँकी दुई स्थानका लागि तीन टिममा न्यूजिल्यान्ड र इंग्ल्यान्डको सेमिफाइनल पुग्ने सम्भावना आफ्नो हातमा छ भने पाकिस्तान अन्तिम खेलमा जितेर मात्र पुग्दैन अन्य टिमको नतिजामा पनि भर पर्नु पर्नेछ ।
त्यस्तै, बुधबार इंग्ल्यान्डलाई हराए न्युजिल्यान्ड १३ अंकसहित सेमिफाइनल पुग्नेछ । इंग्ल्यान्डसँग हारेको अवस्थामा पनि न्यूजिल्यान्डको सम्भावना हुनेछ । यसका लागि अन्तिम खेलमा जित हात पारेको पाकिस्तानलाई रनरेटमा पछि पार्नु पर्नेछ ।
त्यस्तै, बुधबार न्युजिल्यान्डलाई पराजित गरे इंग्ल्यान्ड १२ अंकसहित सेमिफाइल पुग्नेछ । पराजित भएको अवस्थामा पनि इंग्ल्यान्डको सेमिफाइनल सम्भावना हुनेछ । यसका लागि पाकिस्तान पराजित हुनु पर्नेछ ।
त्यस्तै, पाकिस्तानलाई सेमिफाइनल पुग्न अन्तिम खेलमा बंगलादेशलाई हराउनु पर्नेछ । यो अवस्थामा बुधबार इंग्ल्यान्ड पराजित भए पाकिस्तान अन्तिम चारमा पुग्नेछ । इंग्ल्यान्डले जित हात पारेको अवस्थामा पनि पाकिस्तानको सम्भावना हुनेछ । त्यसका लागि पाकिस्तानले बंगलादेशलाई फराकिलो अन्तरले पराजित गर्नुका साथै न्यूजिल्यान्डले ठूलो अन्तरको हार बेहोर्नु पर्नेछ, अनि मात्र न्यूजिल्यान्डलाई रनरेटमा पछि पारेर पाकिस्तान सेमिफाइनल पुग्नेछ ।