काठमाडाैं, २५ जेठ – विभागीय टोली त्रिभुवन आर्मी एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
ओपनर सागर पुनको शतकीय योगदानमा प्रदेश नम्बर ५ लाई १५४ रनले हराउँदै आर्मी फाइनलमा पुगेको हो। शनिबार हुने एपीएफ र नेपाल पुलिसबीचको खेलको विजेतासँग आर्मीले उपाधिका लागि आइतबार प्रतिस्पर्धा गर्नेछ।
राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार टियू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले राष्ट्रिय खेलाडी तथा ओपनर सागर पुनको शानदार शतकको सहयोगमा निर्धारित ओभरमा ८ विकेट गुमाएर २८९ रन बनाएको थियो।
आर्मीका लागि पुनले ११८ रनको शतकीय पारी खेले। ४१.५ ओभरमा लाल अधिकारीको बलमा क्याचआउट हुनुअघि पुनले १४२ बल खेलेर १० चौका र ४ छक्का प्रहार गरे।
सागरले पहिलो विकेटका लागि अर्का ओपनर अनिल मण्डलसँग मिलेर ५२ रनको साझेदारी गरे। टिमको स्कोर ५२ हुँदा आर्मीले लगातार २ विकेट गुमायो। मण्डल व्यक्तिगत १९ रनमा आउट हुँदा नरेश बुढायरले खाता खोल्नै सकेनन्।
तेस्रो विकेटका रुपमा राजु रिजाल ५ रनमा रनआउटको शिकार हुँदा आर्मीले २६.२ ओभरमा ७६ रन जोडेको थियो। त्यसपछि आएका भीम सार्कीले पुनसँग मिलेर ११५ रनको शतकीय साझेदारी गरेपछि सुस्त शुरुवात गरेको आर्मीका लागि राहत मिलेको थियो।
पुनले शतक प्रहार गर्दा सार्कीले पनि ७७ रनको शानदार इनिङ खेले। उनले ५३ बलमा ३ छक्का र ५ चौका प्रहार गरे। छैटौं नम्बरमा ब्याटिङमा आएका आर्मीका कप्तान विनोद भण्डारीले १५ बलमा ४ छक्का र २ चौकाको सहयोगमा ३७ रन बनाए।
बलिङतर्फ प्रदेश ५ का कृष्ण कार्कीले ३, बिक्रम भुसालले २ तथा कप्तान शक्ति गौचन र लाल अधिकारीले १–१ विकेट लिए। २९० रनको लक्ष्य पछ्याएको शक्ति गौचन नेतृत्वको टोली प्रदेश नम्बर ५, ३५.५ ओभरमा १३५ रनमै समेटिएपछि आर्मीको १५४ रनको फराकिलो जीत निश्चित भएको हो।
आर्मीका बलरहरुको कसिलो बलिङसामू प्रदेश ५ का कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन्। प्रदेश ५ का लागि नवौं नम्बरमा ब्याटिङमा आएका कृष्ण कार्कीले बनाएको ३१ रन नै सर्वाधिक हो।
कार्कीले २९ बलमा ३ छक्का र २ चौका प्रहार गरे। उनका अलावा शंकर रानाले २३, सुवेन्दु पाण्डेले ११ तथा अन्तिम थापा र सौरभ खनालले १४–१४ रन बनाए। बलिङतर्फ आर्मीका सुशील कँडेल र विक्रम सोवले ३–३ विकेट लिँदा सागर पुनले २ तथा सोमपाल कामी र साहव आलमले पनि एक एक विकेट बाँडे। सागर पुन खेलको म्यान अफ द म्याच चुनिए।