काठमाडौं । नेपाल आर्मीका सनीसिंह सुनार, एपीएफकी अनिशा तामाङ र नेपाल आर्मीकी सपना ऐडी २४ औं राष्ट्रिय पुरुष खुला तथा १८ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् । सनी पुरुष खुला तौलसमूह, अनिशा महिला ५५ केजीमुनि र सपना महिला ५५ केजीमाथि पहिलो भए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष खुला फाइनलमा सनीले आर्मीकै प्रवीण माझीलाई पराजित गरे । आर्मीका भूपेन्द्र ओली तेश्रो र विष्णु थापा मगर चौथो भए ।
महिला ५५ केजीमुनि फाइनलमा अनिशाले आर्मीकी विन्दु चौधरीलाई हराइन् । केडबलुडब्लुकी सुप्रिया गुरुङ र एपीएफकी निशा सुनुवार चौथो भए ।
नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको महिला ५५ केजीमाथि फाइनलमा सपनाले एपीएफकी सुमित्रा नगरकोटीलाई पाखा लगाइन् । केडबलुडब्लुकी रसिला श्रेष्ठ तेश्रो र आर्मीकी अप्सरा कुमाल चौथो बने ।
छैटौं वज्र फाइटको पुरुष ६२ केजीमुनि किलर फाइट क्लबका सुमन याखा राई पहिलो भए । उनले फाइनलमा आर्मीका जनकबहादुर धामीलाई पन्छाए । पुरुष ५५ केजीमुनि फाइनलमा केडबलुडब्लुका मोहम्मद सन्उला अन्सारीले आईकेएका सन्देश तामाङलाई पराजित गरी पहिलो भए ।

महिला ४६ केजीमुनि आर्मीकी मनीता राई पहिलो भइन् । मनीताले फाइनलमा केडबलुडब्लुकी सिवानी आले मगरलाई हराइन् । विजेतालाई काठमाडौं महानगरपालिकाका पूर्व मेयर राजाराम श्रेष्ठ, आयोजक संघका संस्थापक अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
राष्ट्रिय फुल कन्ट्याक्ट र वज्र फाइटमा समान ३–३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । सातै प्रदेश, आर्मी र एपीएफबाट करिब १ सय खेलाडी सहभागी प्रतियोगिताको सबै स्पर्धाका पदक विजेताले नगद पुरस्कार पाए ।