काठमाडौं । सारा पन्त फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१४ गर्ल्स सिंगल्समा आइतबार च्याम्पियन बनेकी छन् ।
फ्ल्यास स्पोर्ट्स टेनिस एकेडेमीको आयोजनामा बूढानीलकण्ठमा भइरहेको प्रतियोगिताको फाइनलमा साराले अनुश्री ध्वजुलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गरिन् ।
सो स्पर्धाको ब्वाइजमा विश्वविशेष डल्लाकोटी र अर्याशराज पौडेलले फाइनल भेट पक्का गरे । विश्वाले प्रारथ्या रिजाललाई ६–१ र ६–१ तथा अर्याशले सभ्यजंग कार्कीलाई ६–२ र ६–२ को सोझो सेटमा हराए ।
यु–१८ सिंगल्सको ब्वाइजमा आयुशमान हजुर घले र गल्र्समा स्वस्तिका विष्ट पहिलो भए । फाइनलमा आयुशले असभसम्राट हाडालाई ६–१ र ६–१ तथा स्वस्तिकाले आद्या पौडेललाई ६–१ र ६–२ ले पाखा लगाए ।
यु–८ ब्वाइज सिंगल्समा सर्वज्ञजंग खत्री पहिलो भए । उनले फाइनलमा भन्सिल अग्रवाललाई १०–३ र १०–१ ले पन्छाए । उक्त स्पर्धाको गल्र्स फाइनलमा भानी राजभण्डारीले अनुपमा श्रेष्ठलाई १०–७ र १०–३ ले पन्छ्याउदै शीर्ष स्थानमा रहिन् ।
यु–१६ गर्ल्स सिंगल्समा स्वस्तिका विष्टले स्वर्ण जितिन् । स्वस्तिकाले फाइनलमा स्वराह थापामाथि ६–१ र ६–१ को सहज जित दर्ता गरिन् । त्यसै स्पर्धाको ब्वाइजमा साङ्गे रोकायाले सुरेन्द्र विकलाई ६–२ र ६–१ तथा असभसम्राट हाडाले प्रारथ्या रिजाललाई ६–१ र ६–० ले पराजित गर्दै फाइनल यात्रा तय गरे ।
यु–९ ब्वाइज सिंगल्समा टोनिस श्रेष्ठले सोनाम छिरिङ घलेलाई ४–२ र ४–१, यु–१० गर्ल्स सिंगल्समा निम्ति कुँवरले अमाइरा गुप्तालाई ६–३ र ७–६ तथा यु–१२ ब्वाइज सिंगल्समा आरित मल्लले सभ्यजंग कार्कीलाई २–६, ६–१ र ७–५ ले फाइनलमा हराउदै स्वर्ण चुमे ।
ब्वाइज डबल्समा दर्सिल श्रेष्ठ र असभसम्राट हाडाको जोडीले बाजी मारे । उक्त जोडीले फाइनलमा शास्वत वज्राचार्य र आयुशमान हजुर घलेको जोडीलाई ६–४, ५–७ र १०–७ ले हराए । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।