काठमाडौं । लालीगुराँस नेसनल एकेडेमीले १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक विजेता आफ्नो विद्यालयका खेलाडीलाई सम्मान गरेको छ । सामाखुसीमा गत शनिबार आयोजित कार्यक्रममा लालीगुराँसले राष्ट्रिय खेलकुद प्रतिभा सम्मानका अवसरमा ११ खेलाडी र तीन प्रशिक्षकलाई सम्मान गरेको हो ।
उनीहरूलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरी महर्जन र लालीगुराँस नेसनल एकेडेमीका प्रिन्सिपल गोपाल बुढाथोकीलगायतले सम्मान गरेका थिए । एथलेटिक्सका खेलाडीहरू अनिषा थारु, दिना गोपाली, भगवती खड्का, अस्मिता भुजेल, अविनाश सुनार, सन्तबहादुर दराई, नीरज शाह, दीपेन्द्र गिरी, शर्मिला विक र शैलेष श्रेष्ठ तथा उसुकी खेलाडी अनु मोक्तानलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
सोही अवसरमा एथलेटिक्सका प्रशिक्षकद्वय सीताराम चौधरी र देवी बस्नेत तथा उसुका प्रशिक्षक सुवास मगर पनि सम्मानित भए । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा गत जेठ ३० गतेसम्म रनिङ शिल्डमा लालीगुराँसले एथलेटिक्समा १० स्वर्ण, पाँच रजत र दुई कांस्य पदक जितेको थियो ।
साथै उसुमा पनि लालीगुराँसले एक स्वर्ण पदक जितेको थियो । यस क्रममा लालीगुराँस एकेडेमीमा अध्ययनरत खेलाडीहरूले ६ वटा राष्ट्रिय कीर्तिमान पनि रचेका थिए । अनिषा थारुले लङजम्प, ट्रिपलजम्प, चार गुणा चार सय मिटर रिले र चार गुणा एक सय मिटर रिलेमा गरी चार स्वर्ण र एक रजत पदक जितेकी थिइन् । यस क्रममा उनले ट्रपल जम्प र दुई वटा रिलेमा जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
दिना गोपालीले एक सय र दुई सय मिटर दौडका साथै चार गुणा चार सय मिटर रिले र चार गुणा एक सय मिटर रिलेमा स्वर्ण जितेकी थिइन् । भगवती खड्काले पनि दुई विधाको रिलेमा स्वर्ण तथा आठ सय र १५ सय मिटर दौडमा रजत पदक जितिन् । अस्मिता भुजेलले चार गुणा चार सय रिलेमा स्वर्ण र तीन हजार मिटर दौडमा रजत पदक जितेकी थिइन् ।
हाइजम्पमा अविनाश सुनारले रजत र ट्रिपल जम्पमा कांस्य पदक जिते । सन्तबहादुर र नीरज शाहले चार गुणा चार सय मिटर रिले र चार गुणा एक सय मिटर रिलेमा स्वर्ण जितेका थिए । दीपेन्द्रले ट्रिपलजम्पमा कांस्य र शर्मिला विकले प्रदेशस्तरीय तीन हजार मिटर दौडमा रजत पदक जितेका थिए । अनु मोक्तानले उसु ४८ केजी तौलसमूहमा स्वर्ण पदक जितेकी थिइन् ।