काठमाडौं । स्पिन इभेन्ट्सको आयोजनामा हुने चौथो अल नेपाल अन्तरवडा टेबलटेनिस प्रतियोगितालाई अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गीले मुख्य प्रायोजन गर्ने भएका छन् भने दि ह्यानडीक्राफ्ट र इटीटी क्लबले सह-प्रायोजन गर्ने भएको छ । आयोजकले बुधबार तीन पक्षसंग सम्झौता पनि गरेको हो ।
आयोजकका अध्यक्ष सुमन शाक्य, उपाध्यक्ष खड्गी, ह्यानडीक्राफ्टका निर्देशक नदिम शाक्य र इटीटी क्लबका अध्यक्ष रवि धाक्वाले प्रायोजनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । मुख्य प्रायोजनवापत उपाध्यक्ष खड्गीले ५ देखि १० लाख रुपैयाँ सहयोग गर्ने जानकारी दिए । दोश्रो संस्करणमा भने खड्गी सह-प्रायोजक थिए ।
अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा प्रतियोगिता मंसिर ११ देखि १५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगितामा मेन्स सिंगल्स, वुमेन्स सिंगल्स, ब्वाइज सिंगल्स यु-१६, गर्ल्स सिंगल्स यु-१६, मेन्स टिम, वुमेन्स टिम, भेट्रान टिम (४० वर्षमाथि), मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), वुमेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि) मेन्स भेट्रान सिंगल्स (५० वर्षमाथि) र मेन्स भेट्रान सिंगल्स (६० वर्षमाथि) गरी कुल ११ स्पर्धा प्रतिस्पर्धा हुनेछ । करिब ४ सय ५० खेलाडीको सहभागिता रहने छ । प्रतियोगिताको आधिकारिक बल पार्टनरमा दि एच एस र पोशाक पार्टनरमा गोर्खा एथलेटिक्स रहेका छन् ।
प्रतियोगिताको मेन्स/वुमेन्स टिम इभेन्ट्स, भेट्रान टिम (४० वर्षमाथि)का शीर्ष तीन खेलाडी (तेस्रो हुने दुई)लाई शिल्ड प्रदान गरिने छ । मेन्स/वुमेन्स सिंगल्स इभेन्ट्सका शीर्ष तीन (सेमिफाइनलिष्ट) खेलाडीले क्रमश: ३० हजार, १५ हजार र सात हजार पांच सय नगद पुरस्कार, मेडल तथा प्रथम हुनेले ट्रफी पाउनेछ । १६ वर्ष मुनिका ब्वाइज सिंगल्स र गर्ल्स सिंगल्स र भेट्रान्स सिंगल्समा पहिलो, दोस्रो र तेस्रो (सेमीफाइनलिस्ट) हुने खेलाडीले क्रमश: १० हजार, पाँच हजार र दुई हजार पाँच सय नगद पुरस्कारका साथै मेडल, च्याम्पियनले ट्रफी पनि पाउने छ ।
साथै स्वर्ण, रजत र कांस्यपदकको आधारमा सर्वोत्कृष्ट वडालाई रनिङ शिल्ड प्रदान गरिने छ । कीर्तिपुर नगरपालिकाको वडा ६ गत संस्करणमा टिम च्याम्पियन बनेको थियो । मेन्स/वुमेन्स सिंगल्स तथा १६ वर्षमुनी ब्वाइज सिंगल्स गर्ल्स सिंगल्समा च्याम्पियन खेलाडीले अनर कम्पनीको एक्स सेभेन सी मोडलको मोबाइल फोन पनि प्राप्त गर्ने छन् ।