काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव टंकलाल घिसिङले विभिन्न खेलका मुख्य प्रशिक्षकसंग प्रशिक्षण, भावी योजना, समस्यालगायतका विषयमा चासो राख्दै बिहीबार छलफल गरेका छन् । सो अवसरमा सदस्य-सचिव घिसिङले मुख्य प्रशिक्षकलाई आफ्नो क्षमता सहि ठाउँमा सदुपयोग गर्नु पर्ने सुझाउदै प्रशिक्षकहरुले आवश्यकता अनुसार समय-समयमा रिफ्रेसर कोर्ष गर्नु पर्नेमा जोड दिए ।
उनले विगतको प्रशिक्षणशैलीले मात्र सोचे जस्तो उपलब्धी हासिल गर्न नसकिने बताउँदै वैज्ञानिक प्रशिक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याए । उनले वैज्ञानिक प्रशिक्षणका लागि फिट्नेस सेन्टर निर्माण र सोका लागि आवश्यक पर्ने सामाग्री खरिदको प्रकृया अगाडि बढिसकेको बताए । सदस्य-सचिव घिसिङले मुख्य प्रशिक्षकको प्रगति विवरणका विषयमा जानकारी लिन कम्तिमा महिनामा एक पटक बैठक समेत राख्ने बताए ।
छलफलमा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, उप-निर्देशक विष्णु सिंहसहित भारोत्तोलन, कुस्ती, उसु, भलिबल, क्रिकेट, जुडो, ब्याडमिन्टन, शारीरिक सुगठन, लनटेनिस, टेबलटेनिस, पौडी, जिम्न्याष्टिक, तेक्वान्दो, बास्केटबललगायत खेलका मुख्य प्रशिक्षकको उपस्थिति रहेको थियो । सो अवसरमा मुख्य प्रशिक्षकहरुले आ-आफ्नो खेलको अवस्था बारे जानकारी गराउँदै समस्या बारे अवगत गराएका थिए ।