काठमाडौं । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते काठमाडौंमा आयोजना हुने महिला तथा पुरुष एसिया रग्बी सेभेन्स ट्रफीमा १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएको छ । जसमा पुरुषतर्फ १४ तथा महिलातर्फ ८ टोलीले भाग लिन लागेको बुधवार आयोजित पत्रकार सम्मेलनमा नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले बताए ।
पुरुषमा नेपालसहित अफ्गानिस्तान, बहराइन, भारत, जोर्डन, काजकिस्तान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरबिया, उज्वेकिस्तान, बंगलादेश, चाइनिज ताइपेईं र श्रीलंका रहेका छन् । महिलामा नेपाल, भारत, गोआम, इन्डोनेसिया, इरान, फिलिपिन्स, उज्वेकिस्तान र श्रीलंका छन् । यसअघि नेपाल रग्बी संघले सन् २०२२ मा एसिया रग्बी यु-१८ सेभेन्स र सन् २०२३ मा एसिया रग्बी यु-२० सेभेन्सको आयोजना गरिसकेको छ । संघले आयोजना गर्न लागेको यो तेस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताका लागि कुल ४ सय ५० भन्दा धेरै खेलाडी तथा अफिसियलले सहभागिता जनाउने छन् । दुवै तर्फका विजेताले ट्रफी र मेडल प्राप्त गर्ने छन् । दोस्रो र तेस्रो स्थान हासिल गर्ने टोलीले पनि पदक पाउने छन् । प्रतियोगिताको अनुमानित बजेट करिब २ करोड २० लाख रुपैयाँ रहेको बताइएको छ ।
एसिया रग्बी सेभेन्स ट्रफी एसियाली खेलकुद र ओलम्पिक छनोटको माध्यम समेत रहेको संघका महासचिव गोविन्द घिमिरेले बताएका छन् । उनका अनुसार प्रतियोगिताका अन्तिम दुई टोली रेलिगेशनमा पर्नेछ भने च्यालेन्ज कपका शीर्ष दुई टोली एसिया रग्बी सेभेन्स सिरिजमा उक्लिने छन् । संघले एसिया रग्बी सेभेन्सको तयारीका लागि न्युजिल्यान्डका अनुभवी प्रशिक्षक मुरे पउल स्टुर्ट फ्रेड रोयलाई नियुक्त गरेको थियो ।
मुरेको प्रशिक्षणमा नेपालका दुवै टोलीले भक्तपुरमा दुई महिना प्रारम्भिक प्रशिक्षण गरेको थियो भने हाल पोखरामा बन्द प्रशिक्षणमा छन् । यसै प्रतिस्पर्धाका लागि नेपालको को १६ सदस्यीय महिला/पुरुष टोलीको घोषणा भैसकेको छ । संघका महासचिव घिमिरेका अनुसार एसियामा नेपाल अहिले पुरुष तर्फ १० तथा महिला तर्फ छैटौं वरीयतामा छन् ।