काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग एनएसएलमा झापा एफसी र वीरगन्ज युनाइटेड एफसीले बराबरी खेलेका छन् । दशरथ रंगशालामा शुक्रबार भएको खेलमा १० खेलाडीमा सिमित झापा र वीरगन्ज युनाइटेडले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले एकपछि अर्को आक्रमण बुनेपनि पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भएका छन् । दोस्रो संस्करण एनएसएलमा झापा र वीरगन्जले आफ्नो चार खेलसम्म आइसक्दा पनि जित दर्ता गर्न सकेको छैन ।
खेलको पहिलो हाफमा झापाले राम्रो प्रदर्शन गरेको थियो । दोस्रो हाफको ७३ औं मिनेटमा १० खेलाडीमा झरेको झापाविरुद्ध वीरगन्जले अग्रता लिने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा दोस्रो संस्करण एनएसएलमा पहिलो जित दर्ता गर्न सकेनन् ।
पहिलो खेलमा स्पोर्टिङ इलामसँग १–० गोल अन्तरले पराजित झापाले पोखरा थन्डर्ससँग १–१ गोलको बराबरी खेलेको थियो । अघिल्लो खेलमा झापाले साबिक विजेता काठमाडौं रेजर्ससँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको थियो । बराबरीसँगै झापा ४ खेलबाट ३ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।
पहिलो खेलमा साबिक उपविजेता धनगढी एफसीसँग २–१ गोल अन्तरको हार ब्यहोरेको वीरगन्ज युनाइटेड दोस्रो खेलमा पनि समान २–१ गोल अन्तरले एफसी चितवनसँग पराजित भएको थियो । वीरगन्जले अघिल्लो खेलमा ललितपुर सिटी एफसीसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।
बराबरीसँगै ४ खेलबाट २ अंक जोडेपनि वीरगन्ज युनाइटेड एनएसएल तालिकाको पुछारमै यथावत रहेको छ । आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका विरगन्ज युनाइटेडका कप्तान दीप कार्की खेलको ‘प्लेयर अफ द म्याच’ भएका थिए ।
दोस्रो संस्करणको एनएसएल प्रतियोगिता अन्तर्गत भोलि शनिबार दशरथ रंगशालामा दुई खेल हुनेछन् । दिउँसो १ बजे धनगढी एफसी र स्पोर्टिङ इलाम एफसीले तथा साँझ ५ बजे काठमाडौं रेजर्स एफसी र एफसी बुटवल लुम्बिनीले प्रतिस्पर्धा गर्नेछन् ।