काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग एनएसएलमा एफसी बुटवल लुम्बिनीले पहिलो जित दर्ता गराएको छ । आईतबार दशरथ रंगशालामा भएको खेलमा बुटवल लुम्बिनीले स्पोर्टिङ इलाम एफसीलाई २–१ गोल अन्तरले हराएको हो ।
एनएसएलको दोस्रो संस्करणमा पहिलो जित दर्ता गरेको एफसी बुटवल लुम्बिनीको जितमा स्टेफन बियोङ र कप्तान समेत रहेका मार्की खेलाडी एरिक विष्टले समान १/१ गोल प्रहार गरेका थिए । स्पोर्टिङ इलाम एफसीका लागि अब्डुल्ज बाले एक गोल फर्काएका थिए ।
खेलको ४८ औं मिनेटमा फरवार्ड जिलेस्पी जंग कार्कीले निकालेको क्रसमा स्टेफन बियोङले गोल गर्दै बुटवल लुम्बिनीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ७९ औं मिनेटमा अब्डुल्ज बालेले गोल गर्दै स्पोर्टिङ इलामलाई १–१ गोलको बराबरीमा फर्काएका थिए ।
त्यसअघि, खेलको ५८ औं मिनेटमा स्पोर्टिङ इलामले पेनाल्टीमा बराबरी गर्ने अवसर पाएको थियो । बुटवल लुम्बिनीका बिइकले दिपेश घले माथि फाउल गरेपछि स्पोर्टिङ इलामले पेनाल्टी पाएको थियो । तर, पेनाल्टीमा कमाराको प्रहार बुटवल लुम्बिनीका गोलकिपर मोहमाडुले बचाएका थिए ।
त्यसपछि, खेलको ८८ औं मिनेटमा कप्तान एरीक विष्टले उत्कृष्ट फ्रिकिक गोल गर्दै बुटवल लुम्बिनीको जित सुनिश्चित गरेका थिए । मार्की खेलाडी समेत रहेका एरिकले करिब ३५ यार्ड टाढाबाट गोलकिपर विकेश कुठुको बायाँ तर्फको कर्नरमा प्रहार गरेको फ्रिकिक कुठुले प्रयास गरेपनि गोल रोक्न सकेनन् ।
जितसँगै बुटवल लुम्बिनीले यस संस्करणको एनएसएलमा तीन खेलमा तीन अंक हात पारेको छ । पहिलो खेलमा ललितपुरसँग २–० गोल अन्तरले पराजित बुटवल लुम्बिनीले दोस्रो खेलमा धनगढीविरुद्ध १–० गोल अन्तरको हार ब्यहोरेको थियो । स्पोर्टिङ इलामको पनि तीन खेलमा तीन अंक नै रहेको छ ।
एनएसएलको उद्घाटन खेलमा साबिक विजेता काठमाडौं रेजर्ससँग १–० गोल अन्तरले निराश बनेको स्पोर्टिङ इलामले दोस्रो खेलमा झापा एफसीलाई १–० गोल अन्तरले हराएको थियो । आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका बुटवल लुम्बिनीका गोलकिपर मोहमाडु खेलको ‘प्लेयर अफ द म्याच’ भएका थिए ।