काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग एनएसएलमा धनगढी एफसीले एफसी बुटवल लुम्बिनीमाथि रोमाञ्चक जित निकालेको छ । दशरथ रंगशालामा विहीबार भएको खेलमा बुटवल लुम्बिनीलाई १–० गोल अन्तरले पराजित गर्दै धनगढीले एनएसएलमा लगातार दोस्रो जित दर्ता गरेको हो ।
धनगढीका लागि ओलावले अफिजले खेल सकिन लाग्दा निर्णायक गोल गर्दै जित दिलाएका हुन् । धनगढीको जितमा बराबरीतर्फ उन्मुख खेलको इन्जुरी समयमा अहमद हिजाजीको पासमा ओलावालेले अफसाइड ट्रयाप बिट गर्दै गोलरक्षकको खुट्टा मुनिबाट फिनिस गर्दै गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा बुटवल लुम्बिनीले धनगढीमाथि दबाब बनाएपनि दोस्रो हाफमा खेलाडी परिवर्तन गरेसँगै धनगढीले खेलमा विस्तारै प्रभाव जमाएको थियो । निर्णायक गोलकर्ता बनेका ओलावले अफिज सहित डियाग्ने, सन्दीप पौडेल दोस्रो हाफमा मैदान छिरेपछि धनगढीले लगातार बुटवल लुम्बिनीमाथि आक्रमण बुनेको थियो ।
खेलको सुरुवातमा बुटवल लुम्बिनीका कप्तान एरिक विष्टको फ्रिकिकलाई धनगढीका गोलकिपर मोहमद टाहाले मुस्किलले जोगाएका थिए । एरिक विष्टकै कर्नर किकमा जिलेस्पी जंग कार्कीको हेडर प्रहार धनगढीका डिफेन्सले गोल लाइनबाट मुस्किलले बचाएका थिए ।
यसअघि वीरगन्जविरुद्ध बराबरीतर्फ उन्मुख पहिलो खेलमा धनगढीका अहमद हिजाजीले अन्तिम समयमा गोल गर्दै २-१ गोल अन्तरको रोमाञ्चक जित दिलाएका थिए । लगातार दोस्रो जितसँगै २ खेलबाट ६ अंक जोडेको धनगढी एफसी एनएसएल लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो खेलमा पराजित एफसी बुटवल लुम्बिनी भने प्रतियोगितामा अंक विहीन रहेको छ ।
आजको प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गरेका धनगढी एफसीका गोलरक्षक मोहमद ताहा खेलको ‘प्लेयर अफ द म्याच’ भएका थिए । एनएसएल प्रतियोगिता अन्तर्गत भोलि शुक्रबार हुने खेलमा वीरगन्ज युनाइटेड एफसी र एफसी चितवनले साँझ ५:३० बजे प्रतिस्पर्धा गर्नेछन् ।