काठमाडौं । साबिक विजेता काठमाडौं रेजर्स एफसीले नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा काठमाडौं रेजर्सले नवप्रवेशी स्पोर्टिङ इलामलाई १–० गोलअन्तरले हराएको हो ।
काठमाडौं रेजर्सका लागि राजीव लोप्चनले खेलको दोस्रो हाफमा निर्णायक गोल गर्दै जित दिलाएका हुन् । विदेशी खेलाडी शोखरुखको कर्नरमा दोस्रो हाफमा बेन्चबाट मैदान छिरेका राजीवले खेलको ५२ औं मिनेटमा काठमाडौं रेजर्सका लागि निर्णायक गोल गरेका थिए ।
पहिलो हाफमा दुवै टिमका खेलाडीबीच राम्रो तालमेल मिल्न नसकेर दुवै टिमले खेलमा प्राप्त अवसर खेर फालेका थिए । जितसँगै साबिक विजेता काठमाडौं रेजर्सले पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोड्दा स्पोर्टिङ इलामले भने डेब्यु सिजन नै हारबाट शुरूवात गरेको छ ।
एनएसएलको दोस्रो संस्करणमा गायकद्वय सुशान्त केसी र वाङ्गदेन शेर्पा तथा ट्वीनी गर्ल्स (प्रिन्सी र प्रिज्मा खतिवडा) को विभिन्न सांगीत प्रस्तुतिसहित भव्य उद्घाटन भएको थियो । यसपटकको एनएसएलमा ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
इलाम स्पोर्टिङ, झापा एफसी र वीरगञ्ज युनाइटेडले पहिलो पटक फ्रेन्चाइज लिग खेल्दैछन् । गत संस्करणको टोली काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटलव लुम्बिनी एफसी र धनगढी एफसीले दोस्रो संस्करणमा पनि प्रतिस्पर्धा गर्दैछन् ।
आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका काठमाडौं रेजर्सका कोमिल्ज्लोम तोज्हिदिनोव खेलको ‘प्लेयर अफ द म्याच’ भएका थिए । प्रतियोगिताको दोस्रो दिन भोलि (शनिबार) दुई खेल हुनेछन् । दशरथ रंगशालामा भोलि पहिलो खेलमा पोखरा थन्डर्स र एफसी चितवनबिच दिउँसो २:३० बजे तथा दोस्रो खेलमा बुटवल लुम्बिनी एफसी र ललितपुर सिटी एफसीबिच बेलुका ५:३० बजे प्रतिस्पर्धा हुनेछ ।