काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गतको दोस्रो खेलमा यमनसँग पराजित भएको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली नेपाल यमनसँग २-० गोलअन्तरले पराजित भएको हो । जीतसँगै यमनले तीन अंक जोडेको छ ।
पहिलो हाफ गोलरहित भएको खेलको दोस्रो हाफमा यमनले आक्रमक खेल खेलेर नेपाललाई दुई गोल हानेको हो । यमनको सहज जितमा कप्तान ओमार अब्दुल्लाह अल धानी र मोहम्मद अब्दुल्लाह अल दाहीले समान १/१ गोल प्रहार गरेका थिए ।
खेलको ७२ औं मिनेटमा कप्तान ओमार अब्दुल्लाह अल धानीले गोल गर्दै यमनलाई सुरुवाती अग्रता दिलाएका थिए । ओमारले एकल प्रयासमा डिबक्स बाहिरबाट दोस्रो बार च्याम्दै हानेको शक्तिशाली प्रहारले जाली चुमेको थियो ।
यमनले खेलको ९० औं मिनेटमा काउन्टर अट्याकमा दोस्रो गोल गर्दै जित सुनिश्चित गर्यो । मोहम्मद अब्दुल्लाह अल दाहीले नेपालका दुई डिफेन्डरलाई बिट गर्दै कप्तान किरणकुमार लिम्बु माथि चिप गर्दै जित सुनिश्चित गरेका थिए । अन्त्यतिर नेपालले केही मौका सिर्जना गरे पनि कुनै स्पष्ट अवसर भने बनाउन सकेन ।
यमनविरुद्धको खेलमा नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो अनेसेले फरवार्ड राजेश परियारलाई डेब्यु दिएका थिए । उनले ७९ औं मिनेटमा अन्जन विष्टको स्थान लिएर राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । खेलमा नेपालका डिफेन्डर अनन्त तामाङ चोट बोक्दै स्ट्रेचरमा मैदान बाहिरिएका थिए ।
विश्वकप छनोटको दोस्रो चरणमा नेपालकाे यो लगातार दाेस्राे हार हाे । यसअघि नेपालले दोस्रो चरणको पहिलो खेलमा युएईसँग ४-० गोलअन्तरको हार ब्यहोरेको थियो । यो प्रतियोगिता विश्वकप छनोट २०२६ का साथै एएफसी एसियन कप २०२७ का लागि दोस्रो चरणको छनोट पनि हो ।
यसअघि यमनले दोस्रो चरणको पहिलो खेलमा बहराइनसँग २-० गोलअन्तरको हार ब्यहोरेको थियो । समूह ‘एच’ मा रहेको नेपालले अरबका बलिया प्रतिद्धन्दी यूएई, बहराईन र यमनसँग दुई लेगको म्याच खेल्नेछ । छनोट अन्तर्गत तेस्रो र चौथो खेलहरु मार्चमा हुने छन् । नेपालले विश्वकप छनोटको दोस्रो चरणमा यमनविरुद्ध पहिलो लेगको खेल त्रिपुरेश्वरस्थित घरेलु मैदान दशरथ रंगशालामा खेलेको हो । नेपालले दोस्रो लेगको खेल यमनको घरेलु मैदानमा खेल्नेछ ।