काठमाडौं । एसिया रग्वीको आयोजना तथा नेपाल रग्वी संघको व्यवस्थापनमा एसिया रग्वी यु–२० सेभेन्स महिला तथा पुरुष प्रतियोगिता काठमाडौंमा आयोजना हुने भएको छ । संघले आज(बुधबार) पत्रकार सम्मेलन गरि २०२३ भाद्र २ र ३ गते त्रिपुरेश्वरस्थित रङ्गशालामा प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो ।
प्रतियोगितामा पुरुषतर्फ नेपालसहित भारत, थाईल्याण्ड, मलेसिया, चाइनिज ताइपेइ, हङ्गकङ्ग, उज्वेकिस्तान गरि ७ राष्ट्रको सहभागिता रहने आयोजकले जनाएका छन् । त्यस्तै, महिलातर्फ नेपाल, थाईल्याण्ड र मलेसियाको सहभागिता रहने छ । प्रतियोगिता लिग कम नकआउटका आधारमा हुने छ । लिगमा पहिलो र दोश्रो हुने टिमबीच उपाधिका लागि प्रतिस्पर्धा हुने जनाइएको छ ।
७२ लाख अनुमानित लागत रहेको प्रतियोगिताको विजयी टिमले एसिया रग्वीको ट्रफी प्राप्त गर्ने छन् । प्रत्यक्ष प्रसार हुने प्रतियोगितालाई एसिया रग्वीसंग अनुबन्धित ३५ राष्ट्रले पनि प्रत्यक्ष प्रसारण गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
नेपाली टोलीले यस प्रतियोगिताका लागि श्रीलङ्कन प्रशिक्षक विजेलाथ सेनको प्रशिक्षणमा पोखरामा प्रशिक्षण लिइरहेको कार्यक्रममा संघका महासचिव गोविन्द घिमिरेले जानकारी गराए । यसै क्रममा नेपाल रग्वी संघ र गोक्योबीच एक आपसमा सहयोग गर्ने गरि सम्झौता भएको छ । जसमा गोक्योले रग्वी खेलाडीहरुका लागि खेल पोशाक, ट्रायक सुट र खेल सामाग्री उपलब्ध गराउने छ ।
नेपाल रग्वी संघका तर्फबाट महासचिव गोविन्द घिमिरे र गोक्योको तर्फबाट ब्राण्ड मेनेजर अन्जिना राईले सम्झौतापत्रमा हस्ताक्षर गरे भने संघले भक्तपुर ईन्टरनेशनल हस्पिटलसँग पनि सम्झौता गरेको छ । संघको तर्फबाट महासचिव घिमिरे र हस्पिटलका तर्फबाट सिइओ रामजी कुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।