काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा नेपालले विभिन्न २९ खेलमा २ सय ३४ खेलाडी सहभागी गराउने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार भएको १९औँ एसियाली खेलकुद तयारी तथा सहभागिता सम्बन्धमा राष्ट्रिय खेलसँगको छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपालले २ सय ३४ खेलाडी सहभागी गराउने जानकारी गराए ।
‘नेपालले विभिन्न २९ खेलमा २३४ खेलाडी सहभागी गराउने छ । खेलाडीले एक्सपोजर पाउन् भनेरै निकै मेहनत गरेर खेलाडी संख्या २३४ पुर्याउन सफल भयौं’ सदस्य–सचिव घिसिङले भने, ‘एसियाली खेलकुदमा नेपालको सहभागिताका लागि हामीले २४ करोड माग गरेका थियौं । २१ करोडको सहमति प्राप्त भइसकेको छ । बाँकीका लागि प्रयास भइरहेको छ ।’
सदस्य–सचिव घिसिङले खेलाडीको ‘प्लेइङ किट्स’ का लागि संघलाई तयारी थाल्न जानकारी गराए । उनले कुनै संघले तयारीका निम्ति अन्तर्राष्ट्रिय प्रतियोगिता, वैदेशिक प्रशिक्षण वा विदेशी प्रशिक्षक स्वदेशमा झिकाउन चाहेमा आवश्यकताका आधारमा एसियाली खेलकुदको तयारी सचिवालयमा प्रस्ताव पेश गर्न सुझाए । उनले आवश्यक पर्ने खेल सामाग्रीको तुरुन्त विवरण तयार गरी प्रकृया अगाडि बढाउन सचिवालयलाई निर्देशन दिए ।
नेपाल ट्रायथलन संघका अध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले हरेक विषयमा परिषद्को मात्र भर नपरी खेलाडीको सुविधाका लागि सम्बन्धित संघले पनि प्रयास गर्नु पर्नेमा जोड दिए । साथै, उनले परिषद् र ओलम्पिक कमिटीबीच हरेक विषयमा समन्वय भइरहेको बताए ।
कार्यक्रममा तयारी सचिवालयबाट भएका प्रगति विवरण प्रस्तुत गरिएको थियो । उपस्थित संघका प्रतिनिधिले खेलाडीको प्रशिक्षण, सुविधा, बसोबास, प्रशिक्षण स्थल, वैदेशिक प्रशिक्षण, खेल सामाग्री, स्पाइरिङ पार्टनर, बीमालगायतका विषयमा धारणा राखेका थिए । हाङझाव एसियाड असोज ६ गतदेखि सुरु हुँदै छ ।