काठमाडौं । वैकल्पिक गोलरक्षक अन्जना राना मगरले दुई पेनाल्टी जोगाएपछि नेपालले बंगलादेशविरुद्धको फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल सिरिजको उपाधि जितेको छ । उपाधिसँगै नेपाली महिला फुटबल टिमले ६ खेलसम्मको जितविहीन यात्रा तोडेको छ ।
बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल रंगशालामा आईतबार सम्पन्न दोस्रो खेलमा बंगलादेशसँग गोल रहित बराबरी खेलेको नेपालले टाइब्रेकरमा घरेलु टोलीलाई ४–२ गोल अन्तरले पराजित गरेर उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरीमा सकिएपछि मैत्रीपूर्ण सिरिजको निर्णय सिधै टाइब्रेकरमा गरिएको थियो । टाइब्रेकरमा अन्जनाले दुई पेनाल्टी प्रहार बचाएकी थिइन् । अन्जना खेलको ९० औं मिनेटमा कप्तान एन्जिला तुम्बापो सुब्बाको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।
टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीले गोल गरे । तर, गोलकिपर अन्जनाको प्रहार भने बारमा लाग्दै बाहिरिएको थियो । अन्जनाले आफ्नो प्रहारलाई गोलमा परिणत गर्न नसके पनि बंगलादेशका दुई प्रहार बचाउँदै नेपाललाई उपाधि दिलाइन् ।
बंगलादेशकी सम्सुन्नाहार र मोनिका चक्माले पेनाल्टीमा गोल गरे । तर, मारिया मण्डा, सेइली अजिमको प्रहार भने गोलरक्षक अन्जना रानामगरले बचाएकी थिइन् । दुवै देशले फिफा मान्यता प्राप्त मैत्रीपूर्ण फुटबल म्याच खेलको हुन् ।
नेपालले बिहीबार पहिलो मैत्रीपूर्ण खेलमा सावित्रा भण्डारीको इन्जुरी समयको गोलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो । नेपाली महिला टिम चीनमा हुने १९ औँ एसियन गेम्सको तयारीका लागि दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको हो ।
नेपाली महिला टिम गत भदौमा दशरथ रंगशालामा सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनल खेलदेखि जितविहीन थियो । उक्त फाइनल खेलमा नेपाल बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो ।
बंगलादेशविरुद्धको मैत्रीपूर्ण सिरिजको उपाधि जितेपछि राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक अनन्तराज थापाले राम्रो तयारी गरेको खण्डमा नेपालको महिला टिमले साफ च्याम्पियनसिप जित्न सक्ने बताएका छन् ।
‘बंगलादेश साफको च्याम्पियन हो । मैत्रीपूर्ण सिरिजको उपाधि जितेपछि अर्को साफ जित्न सक्छौं भन्ने संकेत गर्छ ।’ थापाले भने, ‘तयारी राम्रो भए अर्को पटक साफ च्याम्पियन हामी हुन सक्छौं ।’ नेपालको महिला टिमले अहिलेसम्म साफ फुटबलको उपाधि जित्न सकेको छैन ।
साफ च्याम्पियनसिपमा नेपालका लागि सधै भारत उपाधि यात्राको तगारो बन्दै आएको थियो । पछिल्लो संस्करण गत भदौमा दशरथ रंगशालामा सम्पन्न खेलमा भने नेपालले भारतलाई हराएपनि फाइनल खेलमा बंगलादेशसँग चुकेको थियो ।