काठमाडौं । चीनको हाङझाउमा असोज ६ गतेदेखि हुने १९ औं एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणलाई भारत जाने ६ खेलाडीसहित ९ सदस्यीय टोलीलाई बिदाइ गरिएको छ । पुरुष खेलाडीमा संयोग कपाली, रुविन महर्जन र विलोश श्रेष्ठ तथा महिलामा नविता श्रेष्ठ, सिक्का सुवाल श्रेष्ठ र इभाना थापा मगर रहेका छन् ।
प्रशिक्षकमा सन्जिवकुमार ढुंगेल र सन्ध्या शाक्य तथा व्यवस्थापकमा अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य रहेका छन् । टोली सोमबार भारत प्रस्थान गर्ने छ । टोलीले नयाँ दिल्लीस्थित अन्सुलगर्ग टेबलटेनिस प्रशिक्षण केन्द्रमा प्रशिक्षण गरी असोज २ गते स्वदेश फर्किने छ ।
टेटेका साग पदक विजेता १० खेलाडीलाई सम्मान
कार्यक्रममा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेबलटेनिसको विभिन्न स्पर्धामा पदक जित्न सफल १० खेलाडीलाई सम्मान गरिएको थियो ।
पुरुषमा स्यान्टु श्रेष्ठले १ रजत र ३ कांस्य, शिवसुन्दर गोथेले १ रजत, विनेश खनियाँले १ रजत र १ कांस्य, पुरुषोत्तम वज्राचार्यले १ रजत र कांस्य तथा संयोग कपालीले १ रजत जितेका थिए । महिलामा नविता श्रेष्ठले २ कांस्य तथा रविना महर्जन, एलिना महर्जन, दीक्षा तामाङ र सिक्का सुवाल श्रेष्ठले १ कांस्य हात पारेका थिए ।
दक्षिण एसियाली युथ टेटेका पदक विजेता सम्मानित
कार्यक्रममा भारतमा भएको दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपका पदक विजेता सबै खेलाडीलाई जनही १० हजार नगदसहित सम्मान गरिएको थियो । बैशाख ३१ देखि जेठ ४ गतेसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, १ रजत र ७ कांस्य पदक जितेको थियो ।
यु–१९ ब्वाइज टिममा सुजन गडाल, विशाल गोले, विश्व बानियाँ र सिद्धार्थ तामाङले नेपाललाई स्वर्ण दिलाएका थिए । यु–१५ गर्ल्स डबल्समा सुस्मिता खड्का र शुभश्री श्रेष्ठले रजत जितेका थिए ।
त्यस्तै यु–१५ ब्वाइज टिममा सिद्धार्थ तामाङ, सौरभ खड्का र एरिस शाक्य, यु–१९ गर्ल्स डबल्समा वियंका राई र इभाना थापा मगर, यु–१९ मिक्स डबल्समा सुजन गडाल र वियंका राई, यु–१९ ब्वाइज डबल्समा विशाल गोले र विश्व बानियाँ, यु–१९ मिक्स डबल्समा सिद्धार्थ तामाङ र शुभश्री श्रेष्ठ, यु–१९ गर्ल्स टिममा वियंका राई, इभाना थापा मगर, दिया देउला र शुभश्री श्रेष्ठ तथा यु–१५ गल्र्स टिममा सुस्मिता खड्का, करिना सुवाल र शुभश्री श्रेष्ठले कांस्य जितेका थिए ।
एसियाली जुनियर टेटेमा पाँच खेलाडी
कतारको दोहामा हुनेमा २५ औं एसियाली जुनियर टेबलटेनिस प्रतियोगितामा नेपालबाट ५ खेलाडी सहभागी हुने छन् । असार ३१ देखि साउन ६ गतेसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुष खेलाडीमा सुजन गडाल, विशाल गोले र घनन्जय दाहाल तथा महिलामा शुभश्री श्रेष्ठ र सुस्मिता खड्का रहेका छन् । प्रशिक्षकमा मोहनदास बासुकला छन् । अम्पायरमा तेजेन्द्रसिंह महरा र नरेश रावल रहेका छन् । असार ३१ देखि साउन ६ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन टोली शनिबार कतार प्रस्थान गर्दै छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यलगायतले खेलाडीलाई सम्मान गर्नुका साथै सफलताको शुभकामनासहित बिदाइ गरेका थिए ।