काठमाडौं । टिपटप हेल्प नेपाल क्लब र त्रिभुवन आर्मी क्लब राजधानीमा जारी सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार चौथो जित हात पार्दै अंक तालिकामा शिर्ष स्थानमा रहेका छन् ।
नेपाल भलिबल संघको आयोजनमा भएको लिगको आज सम्पन्न खेलमा हेल्प नेपालले पुलिस क्लबलाई ३–२ को सेटमा पराजित पराजित गरेको हो । टिपटप हेल्प नेपालले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पायो । दोश्रो सेट पुलिसले २५–२० ले नै जित्दै खेललाई १/१ सेटको बरावरीमा ल्यायो ।
यस्तै पुनः हेल्प नेपालले तेश्रो सेट ३०–२८ ले जित्दै खेललाई २–१ को अवस्थामा ल्यायो । चौथो सेटमा हेल्प नेपाल पुलिससंग १८–२५ ले पराजित भए पश्चात खेल २–२ को अवस्थामा पुग्यो । संघर्षपूर्ण अन्तिम तथा निर्णायक खेलमा हेल्प नेपालले २४–२२ ले जित्दै थप २ अंक बटुल्यो ।
यस्तै, अर्को खेलमा आर्मीले पनि अर्को विभागिय टोली एपिएफलाई ३–२ को संघर्षपूर्ण जित निकाल्यो । आर्मी पहिलो सेट एपिएफसंग १८–२५ ले पराजित भयो । दोश्रो सेट २६–१६ ले जित्न सफल भएको आर्मी तेश्रो सेटमा पुनः २४–२६ ले एपिएफलाई सुम्पन बाध्य भयो ।
चौथो सेट २८–२६ ले जित निकाल्दै आर्मीले खेललाई २–२ को बराबरीमा ल्यायो । अन्तिम तथा निर्णायक खेल १७–१५ ले जित्दै आर्मीले आफ्नो खातामा थप २ अंक जोड्यो । टिपटप हेल्प नेपाल र आर्मीको समान ११–११ अंक भएता पनि प्राप्त सेट स्कोरको आधारमा टिपटपको १.१८ प्रतिशत र आर्मीको १.२४ प्रतिशत अंक हुन्छ । जसका कारण आर्मी अग्रस्थानमा रहेको छ ।
पुरुषकै अर्को खेलमा सैलुङ्ग बाघढुङ्गा स्पोर्टस् क्लबले दावाँली मिलन क्लबलाई ३–२ को सेटमा पराजित गर्दै २ अंक जोड्यो । सैलुङ्गले २५–१९, १४–२५, २२–२५, २५–२१, १५–१३ ले पराजित गर्दै पहिलो जितका साथ २ अंक जोडेको हो ।
महिलातर्फ पुलिस एक खेल अगावै फाइनलमा
महिलातर्फ बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेर लगातार चौथो जित निकालेको छ । पुलिसले २५-१६, २५-१५ र २६-२४ ले खेल आफ्नो पक्षमा पारेको हो ।
जितसँगै ४ खेलमा १२ अंक जोडेको पुलिसले एक खेल अगावै फाइनलमा स्थान बनाएको छ । पहिलो पराजय ब्यहोरेको एपिएफको समान खेलबाट ८ अंक रहेको छ । अब एपिएफले बिहीबार र पुलिसले शुक्रबार न्यू डायमन्ड युथ स्पोर्टस क्लबको सामना गर्नेछन् ।
तीन खेलमा २ अंक जोडेको आर्मी, समान तीन खेलमा जित विहीन गण्डकी र एभरेष्ट भने प्रतियोगिताबाट बाहिरि सकेका छन् । प्रतियोगितामा महिला तर्फ ६ तथा पुरुष तर्फ ७ टोलीको सहभागीता रहेको छ । महिला र पुरुष तर्फ शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल असार ३० गते शनिबार हुने छ ।