काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब तथा टिपटप हेल्प नेपालले सातौं प्रधामन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगिताको चौथो दिन आज मंगलबार पनि जित निकालेका छन् ।
नेपाल भलिबल संघको आयोजनामा भएको लिग प्रतियोगितामा नेपाल पुलिस क्लबले दावाँली मिलन क्लबलाई ३-० ले पराजित गरेको छ । पुलिसले २५-२१, २५-१९, २५-१७ को सोझो सेटमा जित हात पारेको हो । पुलिसको ३ खेलबाट ८ अंक भएको छ । पुलिसले आफुले खेलेका ३ वटै खेल जितेतामा पनि गण्डकी संग अंक बाडेको थियो ।
यस्तै पुरुष तर्फकै अर्को खेलमा टिपटप हेल्प नेपालले पनि आफ्नो तेश्रो खेलमा गण्डकी प्रदेश भलिबल क्लब माथी ३-० को जित निकालेको छ । हेल्प नेपालले गण्डकीमाथी २५-२२, २५-१७, २८-२६ को जित निकालेको हो । यस जितका साथ हेल्प नेपालको ९ अंक भएको छ ।
यस्तै गरि मंगलबार सम्पन्न अर्को खेलमा नेपाल एपिएफ क्लबले शैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लबलाई ३-० ले पराजित गरेको छ । एपिएफले खेल २६-२४,२५-१५ र २८-२६ ले आफ्नो पक्षमा पारेको हो । जितसँगै एपिएफले ३ खेलमा ९ अंक जोडेको छ । लगातार चौथो पराजय ब्यहोरेको शैलुङ्ग अंकबिहिन छ ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिग प्रतियोगिताको महिला तर्फको खेलमा एपिएफले एभरेष्ट भलिबल क्लबलाई २५-९, २५-१२, २५-११ को सोझो सेटमा पराजित गर्दै थप ३ अंक जोडेको छ । एपिएफको ३ खेलबाट ८ अंक भएको छ । एपिएफले आर्मी संग अंक बाँडेको थियो ।
यस्तै गरि न्यू डायमन्ड र आर्मीबिच भएको खेलमा न्यू डायमन्डले ३-२ सेटको जित आत्मसाथ गर्यो । पहिलो र दोश्रो सेट २५-१५, २५-२१ ले आफ्नो पक्षमा पारेको डायमन्डले तेश्रो र चौथो सेट १९-२५, २२-२५ ले आर्मीलाई सुम्पन पुग्यो । पाँचौ तथा अन्तिम सेटमा डायमन्डले १५-९ ले खेललाई आफ्नो पक्षमा पार्दै खातामा थप २ अंक जोडेको हो । हारका बावजुद आर्मीको यो सहित २ अंक भएको छ ।
राउण्ड रोविन लिगमा क्लबले प्राप्त गरेको अंकको आधारमा पहिलो स्थान र दोश्रो स्थान प्राप्त गर्ने टोलीविच फाईनल स्पर्धा हुने र प्रधानमन्त्री कपको उपाधी प्राप्त गर्ने अन्तर्राष्ट्रिय रेफ्री गौतम प्रसाद लासिवाले जनाएका छन् ।