काठमाडौं । साविक विजेता आयोजक भारतले नवौं पटक साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । बेंग्लोरस्थित श्री कान्तिरभा रंगशालामा मंगलबार राती भएको फाइनल खेलमा कुवेतलाई टाइब्रेकरको सडन डेथमा ५–४ गोल अन्तरले हराउँदै भारतले नवौंपल्ट उपाधि उचालेको हो ।
निर्धारित समय र अतिरिक्त समयको खेल १–१ गोलको बराबरी र टाइब्रेकरमा पनि ४–४ गोलको बराबरीपछि खेल सडन डेथमा पुगेको थियो । जहाँ भारतीय गोलकिपर गुरप्रित सिंह नायक रहे । गुरप्रितले कुवेतका कप्तान खालेद हजिआको प्रहारलाई रोक्दै टोलीलाई नवौंपल्ट च्याम्पियन बनाएका थिए । सडन डेथमा भारतका महेश सिंहले गोल गरेका थिए ।
भारतका लागि टाइब्रेकरमा कप्तान सुनिल क्षेत्री, सन्देश झिन्गन, ललियान्जुला र सुबासिस बोस गोल गर्न सफल भए भने उदान्त सिंहको प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो । कुवेतका मोहम्मद अब्दुल्ला पहिलो पेनाल्टीमै गोल गर्न असफल भए भने फवाज अलोलाइबी, अहमद अजिज, अबदुल्ला महरान र साबाहिब अलखाल्दी गोल गर्न सफल भएका थिए ।
त्यसअघि, खेलको १४ औं मिनेटमा साबाहिब अलखाल्दीले गोल गर्दै आमन्त्रित टिम कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । तर, पहिलो हाफमै साहल अब्दुल समादको पासमा ललियान्जुला चाग्तेले खेलको ३९ औं मिनेटमा गोल गर्दै भारतलाई बराबरीमा ल्याउन सफल भएका थिए ।
साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक दक्षिण एसिया बाहिरका राष्ट्र कुवेत र लेवननको सहभागिता रहेको थियो । सेमिफाइनलमा कुवेतले बंगलादेशलाई १–० गोलले र भारतले दोस्रो आमन्त्रित टिम लेवनानलाई टाइब्रेकरमा ४–२ गोलले हराएका थिए ।
भारतले यसअघि सन् १९९३,१९९७,१९९९,२००५,२००९,२०११,२०१५ र २०२१ मा साफ च्याम्पियनसिपको उपाधि जितेको थियो । साफको चौधौं संस्करणको समाप्तीमा भारतले सबैभन्दा बढी ९ पटक, माल्दिभ्सले २ पटक तथा बंगलादेश, श्रीलंका र अफगानिस्तानले समान १/१ पटक उपाधि जितेका छन् ।
नवौंपल्ट उपाधिसँगै भारतले ५० हजार अमेरिकी डलर रुपैयाँ प्राप्त गर्न सफल भएको छ । उपविजेता आमन्त्रित राष्ट्र कुवेतले २५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । भारतले यसअघि पछिल्लो महिना मात्रै इन्टरकन्टिनेन्टल कपको उपाधि पनि जितेको थियो ।
नेपाललाई फेयर–प्ले अवार्ड
साविक उपविजेता नेपालले प्रतियोगितामा फेयर प्लेको अवार्ड जितेको छ । भारत र कुवेतसहितको समूहमा रहेको नेपाल समूह चरणबाटै बाहिरिएको थियो । नेपाल समूह चरणमा कुवेतसँग ३–१ गोलले र भारतसँग २–० गोलले पराजित बनेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले पराजित गरेको थियो ।
भारतीय कप्तान सुनील क्षत्रीले गोल्डेन बुट र गोल्डेन बल दुवै जिते भने बंगलादेशका अनिसुर रहमान उत्कृष्ट गोलरक्षक चुनिए । २५ हजारभन्दा बढी उपस्थित फाइनल खेल नेपालका फिफा रेफ्री प्रज्वल क्षत्रीले खेलाएका थिए ।