काठमाडौं । साविक उपविजेता नेपाल भारतमा जारी १४ औँ संस्करणको साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । बैंगलोरस्थित श्री कांतिराव रंगशालामा शनिबार भएको खेलमा साविक विजेता भारतसँग २-० गोल अन्तरले पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
समूह ‘ए’ को दोस्रो खेलमा भारतको जितमा कप्तान सुनिल क्षेत्री र मिडफिल्डर महेश सिंह नोरिमले समान एक/एक गोल गरेका थिए । खेलको पहिलो हाफमा भारतविरुद्ध उत्कृष्ट खेलेर पकड जमाएको नेपालले खेलको दोस्रो हाफमा दुई गोल खाएको थियो ।
खेलको १७ औं मिनेटमा एरिक विष्टले गरेको शक्तिशाली प्रहारलाई भारतका गोलरक्षक गुरप्रित सिंह सन्धुले विफल पारेका थिए । पहिलो हाफको अन्त्यमा नेपालका अन्जन विष्ट चोटका कारण बाहिरिएसँगै मिडफिल्डर आवास लामिछाने मैदान प्रवेश गरेका थिए ।
खेलको ६१ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । बायाँ विंगमा महेश सिंह नोरिमले दिएको क्रसमा सुनिलले सहजै गोल गरेका थिए । सुनिलको यो अन्तर्राष्ट्रिय करिअरको ९१ औं गोल हो ।
त्यसपछि, खेलको ७० औं मिनेटमा महेश सिंह नोरिमले गोल गर्दै भारतलाई २-० को जित दिलाएका थिए । कप्तान सुनिल क्षेत्रीको पहिलो प्रहार क्रसबारमा लाग्दै पेनाल्टी क्षेत्रभित्र फर्कंदा महेशले सहजै गोलमा परिणत गरेका थिए ।
आज सम्पन्न समूह ‘ए’ को खेलमा कुवेतले पाकिस्तानलाई ४-० गोल अन्तरले पराजित गर्यो । यसअघि पहिलो दिन नेपाल कुवेतसँग ३-१ गोल अन्तरले पराजित हुँदा भारतले पाकिस्तानलाई ४-० गोल अन्तरले हराएको थियो । समूह ‘ए’ बाट भारत र कुवेतले सेमिफाइनलमा स्थान बनाएको छ ।
कुवेत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने भारत २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यस नतिजासँगै नेपाल र पाकिस्तान भने एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएका छन् । नेपाल र पाकिस्तानबीच मंगलबार लिग चरणको अन्तिम खेलमा प्रतिस्पर्धा हुनेछ ।