काठमाडौँ । भारतमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाली राष्ट्रिय टोलीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । भारतको बैंगलोरस्थित श्री कान्तिरभा रंगशालामा बुधबार भएको उद्घाटन खेलमा नेपाल कुवेतसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।
पहिलो पटक साफ खेलिरहेको आमन्त्रित टोली कुवेतको जितमा कप्तान खालिद हाजिह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले समान एक/एक गोल गरेका थिए । नेपालका अन्जन विष्टले एक गोल फर्काएका थिए । समूह ‘ए’ मा रहेको कुवेतले पहिलो खेलमै ३ अंक जोडेको छ ।
खेलको २३ औं मिनेटमा कप्तान खालिद हाजिहले हेडरमार्फत गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । फावज अलोताबीको कर्नरमा नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा हाजिहले गोल गरेका थिए । ३६ औं मिनेटमा कुवेतका मोहमद अब्दुल्लाहको हेडर क्रसबारमा लागेर फर्किदा अग्रता दोब्बर पार्नबाट चुक्यो ।
खेलको ४२ औं मिनेटमा शाबैब अल्खाल्दीले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारेका थिए । अल्खाल्दीले डिबक्सभित्र प्राप्त अवसरमा नेपाली डिफेन्डर विमल पाण्डेको रोक्ने प्रयास विफल पार्दै उत्कृष्ट फिनिसिङ गरेका थिए । कुवेतले दोस्रो हाफमा एक गोल थपेको थियो भने नेपालले एक गोल फर्काएको थियो ।
खेलको ६५ औं मिनेटमा मोहमद अब्दुल्लाहले पेनाल्टीमा गोल गर्दै कुवेतलाई ३-० को अग्रता दिलाएका थिए । नेपालका डिफेन्डर अनन्त तामाङले पेनाल्टी बक्स भित्र ह्याण्डबल गरेपछि कुवेतले पेनाल्टीको अवसर पाएको थियो । तर, त्यसको दुई मिनेट नबित्दै नेपालले खेलमा एक गोल फर्काएको थियो ।
खेलको ६८ औं मिनेटमा अनन्त तामाङको लामो पास कुवेतको डिफेन्सले क्लियर गर्न नसक्दा अन्जन विष्टले बललाई अघि बढाउँदै उत्कृष्ट गरेका थिए । त्यसपछि, नेपालले पाएको केही अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाल पहिलो खेलमा नै ३-१ को हार बेहोर्न पुग्यो ।
अन्जनको यो नेपालका लागि १२ औं अन्तर्राष्ट्रिय गोल हो । नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको तेस्रो स्थानमा रहेका अन्जन कीर्तिमानि बराबरी गर्नबाट एक गोल टाढा छन् । नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलको रेकर्ड बनाएका हरि खड्का र निराजन रायमाझीले समान १३/१३ गोल गरेका छन् ।
अब, नेपालले दोस्रो खेल असार ९ गते शनिबार आयोजक भारतसँग खेल्नेछ भने तेस्रो तथा समूह चरणको अन्तिम खेल असार १२ गते पाकिस्तानसँग खेल्नेछ । यस्तै, साफ च्याम्पियसिप अन्तर्गत आजै हुने दोस्रो खेलमा भारत र पाकिस्तान राति पौने ८ बजे आमने सामने हुने छन् ।
साफ च्याम्पियनसिपको समूह 'ए' मा साविक उपविजेता नेपालसहित साविक विजेता आयोजक भारत, कुवेत र पाकिस्तान रहेको छ । समूह 'बी' मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ । साफ च्याम्पियनसिपका सबै खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्नेछ ।