काठमाडौं । दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १४ औं संस्करण आज बुधबारबाट भारतमा सुरु हुँदैछ । बैंगलोरस्थित श्री कांतिराव रंगशालामा आयोजना हुने साफमा ८ राष्ट्रको सहभागिता रहेको छ ।
यस १४ औं संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । यस संस्करणमा पहिलो पटक सहभागिता जनाएका कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्दै छन् ।
साफ च्याम्पियनसिपको उद्घाटन खेलमा समूह 'ए' मा रहेको नेपालले आज आमन्त्रित टोली कुवेतको सामना गर्नेछ । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल असार ९ गते भारतसँग खेल्नेछ भने तेस्रो तथा समूह चरणको अन्तिम खेल असार १२ गते पाकिस्तानसँग खेल्नेछ ।
बेंग्लोरमा मंगलबार भएको प्रि-म्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनेसले छोटो समय तयारी गरेको टिममा धेरै नयाँ खेलाडी रहेको र उनीहरूबाट उत्कृष्ट प्रदर्शन चाहेको बताए । नेपालले साफ अघि तयारीका लागि लामो समय पाएन । फिलिपिन्ससँग एक मैत्रीपूर्ण खेल खेलेमा नेपाल १-० ले पराजित भएको थियो ।
नेपाल आज कुवेतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । तर, बलियो टोली कुवेतविरुद्ध नेपाललाई सहज भने हुने छैन । कुवेत र नेपालबीच पछिल्लो पटक सन् २०२२ को जुनमा एएफसी एसिया कप छनोटको तेस्रो चरणअन्तर्गत भएको खेलमा घरेलु टोली कुवेतले नेपाललाई ४-१ ले हराएको थियो ।
नेपाल र कुवेतबीच हालसम्म ९ खेल भएको छ । जसमा ८ खेल कुवेतले जितेको छ भने एक खेल बराबरीमा सकिएको थियो । यस्तै, साफ च्याम्पियसिप अन्तर्गत आजै हुने दोस्रो खेलमा भारत र पाकिस्तान पनि आमने सामने हुने छन् । पाकिस्तान र भारतबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजेबाट सुरु हुनेछ ।
साफ च्याम्पियनसिपको समूह 'ए' मा साविक उपविजेता नेपालसहित साविक विजेता आयोजक भारत, कुवेत र पाकिस्तान रहेको छ । समूह 'बी' मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ । साफ च्याम्पियनसिपका सबै खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्नेछ ।
नेपाली टोली :
गोलरक्षक : किरण चेम्जोङ (राउन्ड ग्लास पन्जाब एफसी), दीप कार्की (मनाङ मर्स्याङ्दी), विशाल श्रेष्ठ (मछिन्द्र)
डिफेन्डर : विमल पाण्डे (त्रिभुवन आर्मी फुटबल क्लब), सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र), निशान्त खड्का (संकटा क्लब), रोहित चन्द (पर्सिक केडीरी), सिमान्त थापा (जावलाखेल युथ क्लब)
मिडफिल्डर : पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च ब्वाइज), नविन लामा (एपिएफ), मणीकुमार लामा (एपिएफ), लाकेन लिम्बु (थ्री स्टार), आवास लामिछाने (एपिएफ)
फरवार्ड : आयुष घलान (संकटा), नवयुग श्रेष्ठ (आर्मी), दीपकराज सिंह ठकुरी (सातदोबाटो), अन्जन विष्ट (चर्च ब्वाइज), मनीष डाँगी (संकटा), आशीष चौधरी (चर्च ब्वाइज), विमल घर्तीमगर (मछिन्द्र)