काठमाडौं । अघिल्लो संस्करणको उपविजेता स्पेनले क्रोएसियालाई हराउँदै यूईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ । नेदरल्यान्ड्समा आइतबार राति भएको फाइनलमा क्रोएसियालाई साडनडेथमा ५-४ ले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो । स्पेनको ११ वर्षपछिको यो पहिलो अन्तराष्ट्रिय उपाधि हो ।
स्पेन विश्वकप, युरोपेली च्याम्पियनसिप र नेसन्स लिग जित्ने दोस्रो राष्ट्र बनेको छ । स्पेनले पछिल्लो पटक सन् २०१२ मा युरोकपसँगै २०१० मा फिफा विश्वकप र २००८ मा युरोकप गरी उपाधिमा ह्याट्रिक गरेको थियो । यसअघि फ्रान्सले विश्वकप, युरोपेली च्याम्पियनसिप र नेसन्स लिग जितेको थियो ।
फेइजेनुर्ड रोटरडममा भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल अतिरिक्त समय हुँदै टाइब्रेकर र साडनडेथमा लम्बिदा स्पेनले बाजी मार्न सफल भएको थियो ।
टाइब्रेकरमा स्पेनका जोसेलु, रोड्री, मिकेल मेरिनो र मार्काे एसेन्सियोले गोल गर्दा एमेरिक लापोर्टालेकाे प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो । क्रोएसियाका निकोला भ्लासिच, मार्सेलो ब्रिजोभिच,लुका मोड्रिच र इभान पेरिसिचले गोल गर्दा लोभ्रो माजेर र ब्रुनो पेट्कोभिच पेनाल्टीमा चुकेपछि क्रोएसिया उपविजेतामै समेटिएको हो ।
स्पेनसँगको हारसँगै क्रोएसिया पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्नबाट बञ्चित बन्यो । सन् २०१८ मा विश्व उपविजेता बनेको क्रोएसिया २०२२ को विश्वकपमा तेस्रो भएको थियो । नेसन्स लिगको पहिलो संस्करणमा पोर्चुगल तथा दोस्रो संस्करणमा फ्रान्स च्याम्पियन बनेको थियो ।
नेदरल्यान्ड्सलाई हराउँदै इटाली तेस्रो
आइतबार राति नै नेदरल्यान्ड्समाथि ३-२ गोल अन्तरको रोमाञ्चक जित निकाल्दै इटालीले नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको थियो । खेलको छैटौं मिनेटमा फेडेरिको डिमार्कोले गोल गर्दै इटालीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २० औं मिनेटमा डेभिड फ्रातेसीले गोल गर्दै इटालीको अग्रता दोब्बर बनाएका थिए ।
खेलको ६८ औं मिनेटमा स्टेभन बेर्जविनले गोल गर्दै नेदरल्यान्ड्सलाई २-१ को स्थितिमा ल्याएका थिए । ७२ औं मिनेटमा फेडेरिको चिसाले गोल गर्दै इटालीलाई ३-१ को अग्रता दिलाए । खेलको ८९ औं मिनेटमा नेदरल्यान्ड्सका जर्जिनियो विज्नाल्डमले गोल गरेपनि इटाली ३-२ ले विजयी भएको थियो ।