काठमाडौं । डच टोली नेदरल्यान्ड्सलाई हराउँदै क्रोएसिया यूईएफए नेसन्स लिग ‘ए’ च्याम्पियन्ससिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फेइजेनुर्ड रोटरडम रंगशालामा बुधबार राति भएको रोमाञ्चक सेमिफाइनल खेलमा घरेलु टोली नेदरल्यान्ड्सलाई ४-२ गोल अन्तरले हराउँदै क्रोएसिया फाइनल पुगेको हो ।
क्रोएसियाको रोमाञ्चक जितमा आन्द्रेज क्रामारिच, मारियो पासालिस, ब्रुनो पेट्कोभिच र कप्तान लुका मोड्रिचले समान एक/एक गोल गरेका थिए । नेदरल्यान्ड्सका लागि डोनेल मालेन र नोआ लाङले समान एक/एक गोल गरेका थिए । क्रोएसियाले एक गोलको अग्रता उल्टाएर नेदरल्यान्ड्सलाई हराएको हो ।
खेलको ३४ औं मिनेटमा माट्स वेइफेरको पासमा डोनेल मालेनले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५५ औं मिनेटमा आन्द्रेज क्रामारिचले पेनाल्टीमा गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ७२ औं मिनेटमा मारियो पासालिसले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाएका थिए ।
त्यसपछि, इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा नोआ लाङले गोल गर्दै नेदरल्यान्ड्सलाई २-२ गोलको बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । तर, अतिरिक्त समय भने क्रोएसियाको पक्षमा रह्यो । खेलको ९८ औं मिनेटमा लुका मोड्रिचको पासमा ब्रुनो पेट्कोभिचले गोल गर्दै क्रोएसियालाई ३-२ को अग्रता दिलाए ।
त्यसपछि, खेलको ११६ औं मिनेटमा कप्तान लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै क्रोएसियालाई ४-२ को रोमाञ्चक पूनरागमन जित दिलाएका थिए । अब क्रोएसियाले उपाधिका लागि इटाली र स्पेनबीचको विजेतासँग १८ जुनमा खेल्नेछ । इटाली र स्पेनले आज राति सेमिफाइनल खेल्दैछ । नेदरल्यान्ड्सले तेस्रो स्थानको लागि इटाली र स्पेनबीचको पराजित टोलीसँग १७ जुनमा खेल्नेछ ।