काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेलमाथि थ्री स्टारले जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको अन्तिम खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले हराउँदै लिगको अन्त्य गरेको हो ।
थ्री स्टारको जितमा कप्तान बिक्रम लामाले निर्णायक गोल गरे । खेलको ८३ औं मिनेटमा बिक्रमले पेनाल्टीमार्फत गोल गरेका थिए । जावलाखेलका प्रमिन श्रेष्ठले पेनाल्टी क्षेत्रमा बिक्रमलाई खराब ट्याकल गर्दै लडाएपछि थ्री स्टारलाई रेफ्रीले पेनाल्टी प्रदान गर्दा बिक्रम चुकेनन् ।
सिजनको अन्तिम खेलपछि थ्री स्टारका कप्तान बिक्रम लामाले व्यवसायिक खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । बिक्रमलाई खेल पश्चात थ्री स्टारका टोली तथा अफिसियलले सम्मानसहित बिदाई गरेकाका थिए ।
बिक्रमले लिगको अन्तिम खेलमा पुरै समय टोलीको कप्तानी गरेर मैदानमा बिताएका थिए । जावलाखेलविरुद्धको खेलपछि व्यावसायीक खेल जीवनबाट सन्यास घोषणा गरेका बिक्रमलाई थ्री स्टारका खेलाडीले गार्ड अफ अनर दिएका थिए ।
यस्तै लिगको पुरस्कार वितरण समारोहमा बिक्रमलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले कोट लगाइदिएर सम्मान गरेका थिए । बिक्रम यस सिजनको लिगपछि सन्यास लिने चौंथो खेलाडी हुन् । शुक्रबार पुलिसका जुमानु राई र भोला सिलवाल र आर्मीका दीपक गुरुङले व्यावसायीक खेल जीवनबाट सन्यास लिएका थिए ।
जितसँगै थ्री स्टारले २६ खेलबाट ७ जित, ११ बराबरी र ८ हारका साथ ३२ अंक जाेडेर नवौं स्थानमा रहदै लिगको अन्त्य गरेको छ । जावलाखेलले २६ खेलमा १० जित, ७ बराबरी र ९ हारका साथ ३७ अंक जोडेर चौंथो स्थानमा रहेर हारबाट सिजनको अन्त्य गरेको छ ।
थ्री स्टारको जितले एपिएफ फुटबल क्लब भने रेलिगेसनमा परेको छ । २०६२ सालबाट ‘ए’ डिभिजन लिग खेलिरहेको विभागीय एपीएफ पहिलो पटक ‘बी’ डिभिजनमा घटुवा भएको हो । एपिएफ २६ खेलमा ८ जित, ६ बराबरी र १२ हारका साथ ३० अंक जोडेर १३ औं स्थानमा स्थानमा रह्यो ।
यसै सिजन ‘ए’ डिभिजन लिगमा उक्लिएको खुमलटार पनि रेलिगेसनमा परेको छ । खुमलटार २६ खेलमा ८ जित, ३ बराबरी र १५ हारका साथ २७ अंक जोडेर तालिकाको पुछारमा रहँदै पुनः ‘बी’ डिभिजन लिगमा घटुवा भएको थियो ।