काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत सिजनको अन्तिम खेलमा मनाङमाथि मछिन्द्रले पूनरागमन जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मछिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दी क्लबमाथि ३-१ गोल अन्तरको जित निकालेको हो ।
मछिन्द्रले एक गोलको अग्रता उल्टाएर मनाङलाई हराएको थियो । मछिन्द्रको सहज पूनरागमन जितमा नाइजेरियाली फरवार्ड ओलावाले ओलाडिपो आफिजले दुई गोल तथा विमल घर्ती मगरले एक गोल गरेका थिए । मनाङका विजय श्रेष्ठको सुरुआती गोल सान्त्वना बन्यो ।
पहिलो हाफमा एक गोलले पछि परेको मछिन्द्रले दोस्रो हाफमा तीन गोल फर्काएको थियो । खेलको १६ औं मिनेटमा रन्दीप पौडेलको क्रसमा विजयले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा ओलावाले आफिजले गोल गरे पनि अफसाइड रहँदा त्यसले मान्यता पाएन ।
खेलको ८० औं मिनेटमा विमल घर्ती मगरको पासमा ओलावाले आफिजले गोल गर्दै मछिन्द्रलाई १-१ गोलको बराबरीमा फर्काएका थिए । खेलको ८६ औं मिनेटमा छिरिङ गुरुङको क्रसमा विमलले गोल गर्दै मछिन्द्रलाई २-१ को अग्रता दिलाएका थिए ।
त्यसपछि, इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा ओलावाले आफिजले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ३–१ को सहज पूनरागमन जित दिलाएका थिए । ओलावालेले बिपक्षी चार रक्षकलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए । मछिन्द्रका छिरिङ गुरुङ खेलको ‘म्यान अफ दी म्याच’ चुनिए ।
जितसँगै साविक दुई पटकको च्याम्पियन मछिन्द्र २६ खेलबाट १२ जित, ९ बराबरी र ५ हारका साथ ४५ अंक जाेडेर दोस्रो स्थानमा रहदै लिगको सुखद अन्त्य गरेको छ । मनाङले २६ खेलमा ७ जित, ११ बराबरी र ८ हारका साथ ३२ अंक जोडेर आठौं स्थानमा रहेर हारबाट सिजनको अन्त्य गरेको छ ।