काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज शनिबार सिजनको अन्तिम तीन खेलहरु हुँदैछन् । लिगको २६ औं चरणको अन्तिम तीन खेलमा आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ भने एउटा खेल ललितपुरस्थित च्यासल रंगशालामा हुनेछ ।
दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । लिगको एक खेल बाँकी छँदै उपविजेता बनेको मछिन्द्र आज जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छ भने ८ पटकको कीर्तिमानी विजेता मनाङ पनि आज जित निकाल्दै लिगको सुखद बिदाइ चाहन्छ ।
साविक दुई पटकको च्याम्पियन मछिन्द्र लिगमा २५ खेलबाट ११ जित, ९ बराबरी र ५ हारका साथ ४२ अंक जाेडेर दोस्रो स्थानमा रहेको छ । मनाङ २५ खेलमा ७ जित, ११ बराबरी र ७ हारका साथ ३२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
यता, ललितपुरस्थित च्यासल रंगशालामा हुने अर्को खेलमा संकटा क्लब र न्युरोड टिम एनआरटी दिउँसो २ बजे आमने सामने हुँदैछन् । आज ४ पटकको लिग च्याम्पियन एनआरटी जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छ भने ३ पटकको विजेता संकटा पनि आज जित निकाल्दै लिगको सुखद बिदाइ चाहन्छ ।
लिगमा एनआरटी २५ खेलबाट ८ जित, ९ बराबरी र ८ हारका साथ ३३ अंक जोडेर सातौं स्थानमा रहेको छ । लिगमा संकटा २५ खेलमा ७ जित, १० बराबरी र ८ हारका साथ ३१ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
दशरथ रंगशालामा हुने सिजनको अन्तिम खेलमा जावलाखेल युथ क्लब र थ्री स्टार क्लबबीच साँझ ५:३० बजे प्रतिस्पर्धा हुनेछ । जावलाखेल आज जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छ भने थ्री स्टारलाई आजको खेल महत्वपूर्ण रहेको छ थ्री स्टार आज जित निकाल्दै रेलिगेसनबाट जोगिन चाहन्छ ।
थ्री स्टारले आज हार वा बराबरीको नतिजा निकालेको खण्डमा एपिएफ ‘ए’ डिभिजनमा रहनेछ भने थ्री स्टार रेलिगेशनमा पर्नेछ । लिगमा जावलाखेल २५ खेलबाट १० जित, ७ बराबरी र ८ हारका साथ ३७ अंक जोडेर चौंथो स्थानमा रहेको छ । थ्री स्टार २५ खेलमा ६ जित, ११ बराबरी र ८ हारका साथ २९ अंक जाेडेर १३औं स्थानमा रहेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एक विज्ञप्ति निकाल्दै जावलाखेल र थ्री स्टारबीचको समापन खेलमा दर्शकले निशुल्क खेल हेर्न पाउने जनाएको छ । यो खेलपछि नवप्रवेशी लिग च्याम्पियन एपी पावर चर्च ब्वाइज युनाईटेडलाई ट्रफि हस्तान्तरण गरिने छ ।