काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपिएफमाथि शानदार जितसँगै फ्रेन्ड्स क्लब रेलिगेशनबाट जोगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा विभागीय एपिएफ फुटबल क्लबलाई ४-० गोल अन्तरले हराउँदै ललितपुरे फ्रेन्ड्स रेलिगेशनबाट जोगिएको हो ।
रेलिगेसनबाट बच्न जित निकाल्नै पर्ने लिगकाे अन्तिम खेलमा फ्रेन्ड्सको शानदार जितमा टोरिक जेब्रिन, विकास थापा, राफिक अमिनु र अखरबेक उक्तामोभले समान एक/एक गोल गरेका थिए । फ्रेन्ड्सले पहिलो र दोस्रो हाफमा समान दुई/दुई गोल गरेको थियो ।
खेलको १५ औं मिनेटमा फ्रिकिकमार्फत टोरिक जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३१ औं मिनेटमा रुपेश केसीको पासमा विकास थापाले गोल गर्दै फ्रेन्ड्सको अग्रत दोब्बर पारेका थिए । ७१ औं मिनेटमा टोरिक जेब्रिनको पासमा रफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई ३-० को सहज जिततर्फ अघि बढाएका थिए ।
त्यसपछि, खेलको ८२ औं मिनेटमा अखरबेक उक्तामोभले गोल गर्दै फ्रेन्ड्सलाई ४-० को शानदार जित दिलाएका थिए । अब एपिएफले ‘ए’ डिभिजनको हैसियत जोगाउने नजोगाउने भन्ने निर्धारण शनिबार हुने थ्री स्टार र जावाखेलबीचको खेलले गर्नेछ । थ्री स्टारले हार वा बराबरीको नतिजा निकालेको खण्डमा मात्र एपिएफ ‘ए’ डिभिजनमै रहनेछ ।
जितसँगै फ्रेन्ड्सले २६ खेलबाट ७ जित, ९ बराबरी र १० हारका साथ ३० अंक जोडेर ११ औं स्थानमा रहदै रेलिगेशनबाट जोगिएर लिगको अन्त्य गरेको छ । विभागीय एपिएफ २६ खेलमा ८ जित, ६ बराबरी र १२ हारका साथ ३० अंक जोडेर १२ औं स्थानमा रहेर हारबाट सिजनको अन्त्य गरेको छ ।