काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा खुमलटारमाथि चर्च ब्वाइजले सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा एक खेल अगाबै च्याम्पियन बनेको एपी पावर चर्च ब्वाइज युनाईटेडले एफ.सी खुमलटारलाई २-० गोल अन्तरले हराएको हो ।
तनावग्रस्त खेलमा नवप्रवेशी लिग च्याम्पियन चर्च ब्वाइजको सहज जितमा सुशील शाह र जोसेप बेम्पाहले एक/एक गोल गरेका थिए । निकै तनावपूर्ण अन्तिम खेलमा पराजित भएसँगै नवप्रवेशी खुमलटार भने रेलिगेसनमा परेको छ । खुमलटार बढुवा भएकै सिजनमा 'बी' डिभिजनमा घटुवा भएको हो ।
खेलको १२ औं मिनेटमा एरिक विष्टको फ्रिकिकमा सुशील शाहले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा खुमलटारका बेन्चमा रहेका खेलाडी र अफिसियलले रेफ्रीमाथि आक्रमण गर्दा खेल तनावग्रस्त भएको थियो ।
चर्च ब्वाइजका कप्तान अनन्त तामाङले डी बक्सभित्र ह्याण्ड गरेको भन्दै खुमलटारका खेलाडी र अफिसियलले पेनाल्टीको माग गरेका थिए । रेफ्रीले ह्याण्ड नदिएपछि खुमलटारका म्यानेजर अन्जन रानाले रेफ्री प्रज्वल क्षेत्रीलाई हातपात गरेका थिए । रेफ्रीले खुमलटारको बेन्चमा रहेका ३ अफिसियल र १ खेलाडीलाई रातो कार्ड दिएका थिए ।
त्यसपछि, आधा घण्टापछि सुरु भएको खेलमा इन्ज्युरी समयमा नै जोसेप बेम्पाहले वन भर्सेस वनमा गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर पारेका थिए । यसैगरी खेलको २५ औं मिनेटमा खुमलटारका मेसुके ओलोमोउ पेनाल्टीमा गोल गर्न चुकेका थिए । दोस्रो हाफमा चर्च ब्वाइजका गोलकिपर एभ्स प्रिसोले रातो कार्ड ब्यहोरेपछि १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै २०७९/८० लिगको उपाधिसहित चर्च ब्वाइजले २६ खेलबाट १३ जित, ९ बराबरी र ४ हारका साथ ४८ अंक जोड्दै लिगको अन्त्य गर्यो । यता, चर्च ब्वाइजसँगै यसै सिजन ‘ए’ डिभिजन लिगमा उक्लिएको खुमलटार २६ खेलमा ८ जित, ३ बराबरी र १५ हारका साथ २७ अंक जोडेर तालिकाको पुछारमा रहँदै पुनः ‘बी’ डिभिजन लिगमा घटुवा भएको छ ।