काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शुक्रबार अन्तिम चरणका चार खेलहरु हुँदैछन् । लिगको २६ औं चरणअन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ भने एउटा खेल ललितपुरस्थित च्यासल रंगशालामा र एक खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
लिगको विजेता र उपविजेताको टुङगो एक खेल आगावै लागिसके पनि रेलिगेशनमा पर्ने दुई टोलीको टुङगो भने आजबाट सुरु हुने अन्तिम चरणको खेलले निर्धारण गर्नेछ । लिगमा विभागीय एपिएफदेखी थ्री स्टार क्लब, फ्रेन्ड्स क्लब र एफ.सी खुमलटार रेलिगेशनको संघारमा छन् ।
शुक्रबार दशरथ रंगशालामा हुने पहिलो खेलमा एपिएफ फुटबल क्लब र फ्रेन्ड्स क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ । आजको खेल जित्दै एपीएफ रेलिगेसनबाट जोगिन चाहन्छ भने अर्कोतर्फ फ्रेन्ड्सलाई पनि रेलिगेसनबाट जोगिन खेल जित्नैपर्ने दबाब रहेको छ ।
विभागीय एपिएफ २५ खेलबाट ८ जित, ६ बराबरी र ११ हारका साथ ३० अंक जोडेर ११ औं स्थानमा रहेको छ । फ्रेन्ड्स २५ खेलमा ६ जित, ९ बराबरी र १० हारका साथ २७ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
यता, ललितपुरस्थित च्यासल रंगशालामा हुने अर्को खेलमा नेपाल पुलिस फुटबल क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लब दिउँसो ३ बजे आमने सामने हुँदैछन् । सातदोबाटोमाथि आजको खेलमा जित निकालेमा विभागीय पुलिसले तेस्रो स्थान पक्का गर्नेछ ।
लिगमा पुलिस २५ खेलबाट ११ जित, ५ बराबरी र ९ हारका साथ ३८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । सातदोबाटो २५ खेलमा १० जित, ५ बराबरी र १० हारका साथ ३५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
यस्तै, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अर्को खेलमा पुछारको एफ.सी खुमलटार र च्याम्पियन एपी पावर चर्च ब्वाइज युनाईटेडबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ । खुमलटारलाई रेलिगेशनबाट जोगिन आज जितको विकल्प छैन ।
हार वा बराबरीले शीर्ष डिभिजनमा बढुवा भएकै सिजन खुमलटारले ‘ए’ डिभिजनको हैसियत गुमाउने छ । चर्च ब्वाइज २५ खेलबाट १२ जित, ९ बराबरी र ४ हारका साथ ४५ अंक जोडेर एक खेल अगाबै च्याम्पियन बनिसकेको छ । खुमलटार २५ खेलमा ८ जित, ३ बराबरी र १४ हारका साथ २७ अंक जोडेर पुछारमा रहेको छ ।
दशरथ रंगशालामा हुने अर्को खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र हिमालयन शेर्पा क्लब साँझ ६ बजे आमने सामने हुँदैछन् । लिगमा आर्मी २५ खेलबाट ७ जित, १० बराबरी र ८ हारका साथ ३१ अंक जाेडेर आठौं स्थानमा रहेको छ । हिमालयन शेर्पा २५ खेलमा ७ जित, १० बराबरी र ८ हारका साथ ३१ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।