काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङमाथि एनआरटीले जित निकालेको छ । ललितपुरस्थित च्यासल रंगशालामा बुधबार भएको खेलमा न्युरोड टिम एनआरटीले मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
एनआरटीको जितमा पहिलो हाफमा दिपेश आले मगरले गरेको गोल नै निर्णायक बन्यो । खेलको १७औं मिनेटमा आशिष राईको पासमा दिपेशले गोल गरेका थिए । सोही गोलनै एनआरटीलाई स्पष्ट ३ अंक दिलाउन पर्याप्त बन्यो । यससँगै मनाङको ११ खेलसम्मको अपराजित यात्रामा पूर्ण विराम लागेको छ ।
मनाङले एनआरटीलाई पहिलो लेगमा ३-१ गोल अन्तरले हराएको थियो । जितसँगै एनआरटी २५ खेलबाट ८ जित, ९ बराबरी र ८ हारका साथ ३३ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । पराजित मनाङ २५ खेलमा ७ जित, ११ बराबरी र ७ हारका साथ ३२ अंक जोडेर सातौं स्थानमा झरेको छ ।
संकटा र फ्रेन्ड्सले बराबरी खेल्दै अंक बाडे
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । प्रतिस्पर्धात्मक रहेको खेलको ५३औं मिनेटमा टोरिक जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ७०औं मिनेटमा जुनियर एनकेन्गुएले गोल गर्दै संकटालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
बराबरीसँगै संकटा २५ खेलबाट ७ जित, १० बराबरी र ८ हारका साथ ३१ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ । संकटाले एक खेल अगाबै रेलिगेसनको संकट टारेको छ । फ्रेन्ड्स २५ खेलमा ६ जित, ९ बराबरी र १० हारका साथ २७ अंक जोडेर १३औं स्थानमा रेलिगेसन क्षेत्रमै रहेको छ ।