काठमाडौं । साविक दुई पटकको च्याम्पियन मछिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९/८० को उपविजेता बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मछिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३-१ गोल अन्तरले हराउँदै एक खेल बाँकी छँदै दोस्रो स्थान पक्का गरेको हो ।
मछिन्द्रको सहज जितमा नाइजेरियन फरवार्ड ओलावाले ओलाडिपो आफिजले दुई गोल गरेका थिए भने विमल घर्ति मगरको नाममा एक गोल रह्यो । हिमालयन शेर्पाका केन्याली फरवार्ड पिस्टोन मुताम्बाले खेलको अन्तिम मिनेटमा सान्तवना गोल फर्काएका थिए ।
खेलको २६ औं मिनेटमा पुजन उपरकोटीको क्रसमा विमल घर्ति मगरले उत्कृष्ट हेडर गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६८ औं मिनेटमा युता सुजुकीको क्रसमा ओलावाले आफिजले हेडरमार्फत गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाएका थिए ।
खेलको ७७ औं मिनेटमा ओलावाले आफिजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ३-० को अग्रता दिलाए । हिमालयन शेर्पाका ओबयोमी फान्कुले पेनाल्टी क्षेत्रमा ओलावालेलाई फउल गर्दै लडाएपछि रेफ्री उमेश बिडारीले पेनाल्टी दिदा ओलावाले चुकेनन् ।
खेलको अन्त्यतिर दुवै टोली १० खेलाडीमा सिमित भएका थिए । ८२ औं मिनेटमा मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठ रातो कार्ड ब्यहोर्दै मैदानबाट बाहिरिए भने त्यसको तीन मिनेटपछि नै हिमालयन शेर्पाका निशान लिम्बुले पनि रातो कार्ड ब्यहोरेपछि दुवै टोली १० खेलाडीमा समेटियो ।
त्यसपछि, खेलको अन्तिम मिनेटमा हिमालयन शेर्पाका पिस्टोन मुताम्बाले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेपनि मछिन्द्र ३-१ ले विजयी भयो । मछिन्द्र र हिमालयन शेर्पाबीचको पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो । मछिन्द्रका विमल घर्ति मगर खेलको ‘म्यान अफ दी म्याच’ चुनिए ।
जारी लिगमा मछिन्द्रको यो ११ औं जित हो । जितसँगै मछिन्द्र २५ खेलबाट ११ जित, ९ बराबरी र ५ हारका साथ ४२ अंक जाेडेर दोस्रो स्थानमा रहेको छ । पराजित हिमालयन शेर्पा २५ खेलमा ७ जित, १० बराबरी र ८ हारका साथ ३१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।