काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेलमाथि सातदोबाटोले जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लबले जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
ललितपुर डर्बीमा सातदोबाटोको जितमा सार्दोरबेक मतमुरातोभले गरेको गोल नै निर्णायक बन्यो । खेलको ७४ औं मिनेटमा सार्दोरबेकले निर्णायक गोल गरेका थिए । सोही गोल नै सातदोबाटोलाई स्पष्ट ३ अंक दिलाउन पर्याप्त बन्यो । सातदोबाटोका सार्दोरबेक मतमुरातोभ खेलको ‘म्यान अफ दी म्याच’ चुनिए ।
जारी लिगमा सातदोबाटोको यो दशौँ जित हो । जितसँगै सातदोबाटो २५ खेलबाट १० जित, ५ बराबरी र १० हारका साथ ३५ अंक जाेडेर पाँचौं स्थानमा रहेको छ । पराजित जावलाखेल २५ खेलमा १० जित, ७ बराबरी र ८ हारका साथ ३७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
विभागीय डर्बीमा आर्मी र पुलिसले बराबरी खेल्दै अंक बाडे
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । खेलको दोस्रो मिनेटमा नै दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ३९ औं मिनेटमा अहमत हिजाजीले गोल गर्दै पुलिसलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
बराबरीसँगै पुलिस २५ खेलबाट ११ जित, ५ बराबरी र ९ हारका साथ ३८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । बराबरीसँगै आर्मी २५ खेलमा ७ जित, १० बराबरी र ८ हारका साथ ३१ अंक जाेडेर सातौं स्थानमा उक्लिएको छ ।
रेलिगेनसन जोनको खुमलटारले विभागीय एपिएफलाई हरायो
ललितपुरस्थित च्यासल रंगशालामा मंगलबार भएको खेलमा एफसी खुमलटारले एपिएफ फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराएको छ । खुमलटारको जितमा मेसुके ओलुमोउले दुई गोल गरेका थिए । स्टेफेन बिनोङले एक गोल थपे । एपीएफका सनिश श्रेष्ठले एक गोल फर्काएका थिए ।
खेलको १३ औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारको अग्रता दोब्बर बनाएका थिए । खेलको ५५ औं मिनेटमा स्टेफेनले गोल गर्दै खुमलटारलाई ३-० को अग्रता दिलाएका थिए ।
त्यसपछि, खेलको इन्जुरी समयमा एपीएफका कप्तान नविन लामाको पासमा सनिशले गोल गरेपनि खुमलटार ३-१ ले विजयी भयो । विभागीय एपिएफले खुमलटारलाई पहिलो लेगमा २-० गोलले हराएको थियो । जारी लिगमा खुमलटारको यो आठौं जित हो ।
जितसँगै खुमलटार २५ खेलबाट ८ जित, ३ बराबरी र १४ हारका साथ २७ अंक जाेडेर १३ औं स्थानमा उक्लिएको छ । पराजित एपिएफ २५ खेलबाट ८ जित, ६ बराबरी र ११ हारका साथ ३० अंक जोडेर नवौं स्थानमा रहेको छ ।