काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज मंगलबार चार खेलहरु हुँदैछन् । दोस्रो लेगको १२ औं चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ भने एउटा खेल ललितपुरस्थित च्यासल रंगशालामा र एक खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
दशरथ रंगशालामा हुने पहिलो खेलमा एपी पावर चर्च ब्वाइज युनाईटेड र थ्री स्टार क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुँदैछ । शीर्ष स्थानमा रहेको चर्च ब्वाइजलाई डेब्यु सिजनमै उपाधि जित्न अब मात्र एक अंकको आवश्यकता रहेको छ भने अर्कोतर्फ थ्री स्टारलाई रेलिगेसनबाट बच्न आजको जित महत्वपूर्ण रहेको छ ।
लिग लिडर चर्च ब्वाइज २४ खेलबाट १२ जित, ८ बराबरी र ४ हारका साथ ४४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । रेलिगेसन क्षेत्रमा रहेको टोलीभन्दा २ अंकले मात्रै अघि थ्री स्टार २४ खेलबाट ६ जित, १० बराबरी र ८ हारका साथ २८ अंक जाेडेर १२ औं स्थानमा रहेको छ ।
यस्तै, ललितपुरस्थित च्यासल रंगशालामा एपिएफ फुटबल क्लब र एफसी खुमलटारबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुँदैछ । रेलिगेसन क्षेत्रको पुछारमा रहेको खुमलटार आज आठौं जितको योजनामा हुनेछ भने विभागीय एपीएफ नवौं जितको खोजीमा हुनेछ ।
जारी लिगमा एपिएफ २४ खेलबाट ८ जित, ६ बराबरी र १० हारका साथ ३० अंक जोडेर नवौं स्थानमा रहेको छ । यसै सिजन मात्र ‘ए’ डिभिजनमा बढुवा भएको खुमलटार २४ खेलमा ७ जित, ३ बराबरी र १४ हारका साथ २४ अंक जोडेर पुछारमा रहेको छ ।
यस्तै, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुँदैछ । विभागीय डर्बीमा पुलिस १२ औं जित निकाल्ने योजनामा हुनेछ भने आर्मी आज आठौं जित निकाल्न चाहन्छ ।
लगातार पाँचौं खेल जितेको पुलिस २४ खेलबाट ११ जित, ४ बराबरी र ९ हारका साथ ३७ अंक जोड्दै चौंथो स्थान रहेको छ । आर्मी २४ खेलमा ७ जित, ९ बराबरी र ८ हारका साथ ३० अंक जाेडेर आठौं स्थानमा रहेको छ ।
यस्तै, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दोस्रो खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच साँझ ६ बजे प्रतिस्पर्धा हुनेछ । ललितपुर डर्बीमा सातदोबाटो दशौँ जित निकाल्ने योजनामा हुनेछ भने जावलाखेल ११ औं जितको खोजीमा हुनेछ ।
उपाधि होडबाट बाहिरिसको जावलाखेल २४ खेलमा १० जित, ७ बराबरी र ७ हारका साथ ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । सातदोबाटो २४ खेलबाट ९ जित, ५ बराबरी र १० हारका साथ ३२ अंक जाेडेर पाँचौं स्थानमा रहेको छ ।