काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा खुमलटारमाथि संकटा क्लबले सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा संकटाले एफसी खुमलटारलाई ३-० गोल अन्तरले हराएको हो ।
संकटाको सहज जितमा निशान खड्का, आयुष घलान र चन्दनकुमार दासले समान एक/एक गोल गरेका थिए । खेलको १६ औं मिनेटमा निशान खड्काले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा मनिष पौडेलको पासमा आयुष घलानले गोल गर्दै संकटाको अग्रता दोब्बर बनाएका थिए ।
त्यसपछि, खेलको ७८ औं मिनेटमा चन्दनकुमार दासले गोल गर्दै संकटालाई ३-० को सहज जित दिलाएका थिए । संकटाले खुमलटारलाई पहिलो लेगमा १-० गोलले हराएको थियो । जितसँगै संकटा २४ खेलबाट ७ जित, ९ बराबरी र ८ हारका साथ ३० अंक जोडेर ११ औं स्थानमा रहेको छ । पराजित खुमलटार २४ खेलमा ७ जित, ३ बराबरी र १४ हारका साथ २४ अंक जोडेर पुछारमा रहेको छ ।
मनाङ र फ्रेन्ड्सले बराबरी खेल्दै अंक बाडे
दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा फ्रेन्ड्स क्लब र मनाङ मर्स्याङ्दी क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । खेलको ५२ औं मिनेटमा विजय श्रेष्ठको कर्नरमा निराजन धामीले हेडरमार्फत उत्कृष्ट गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८६ औं मिनेटमा अमित तामाङले पेनाल्टीमार्फत गोल गर्दै फ्रेन्ड्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
मनाङले फ्रेन्ड्सलाई पहिलो लेगमा २-० गोलले हराएको थियो । बराबरीसँगै मनाङ २४ खेलबाट ७ जित, ११ बराबरी र ६ हारका साथ ३२ अंक जाेडेर छैटौं स्थानमा रहेको छ । फ्रेन्ड्स २४ खेलमा ६ जित, ८ बराबरी र १० हारका साथ २६ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
एनआरटी र हिमालयन शेर्पाले बराबरी खेल्दै अंक बाडे
दशरथ रंगशालामानै आइतबार सम्पन्न खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । खेलको ५२ औं मिनेटमा दिवस उराउले उत्कृष्ट गोल गर्दै हिमालयन शेर्पालाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५५ औं मिनेटमा दिपेश आले मगरले गोल गर्दै एनआरटीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
बराबरीसँगै हिमालयन शेर्पा २४ खेलबाट ७ जित, १० बराबरी र ७ हारका साथ ३१ अंक जोडेर सातौं स्थानमा रहेको छ । बराबरीसँगै एनआरटी २४ खेलमा ७ जित, ९ बराबरी र ८ हारका साथ ३० अंक जोडेर दशौँ स्थानमा रहेको छ ।