काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पुलिससँग पराजित मछिन्द्रलाई उपाधि होडमा धक्का लागेको छ । ललितपुरस्थित च्यासल रंगशालामा आइतबार भएको खेलमा नेपाल पुलिस फुटबल क्लबले उपाधि दौडमा रहेको मछिन्द्र फुटबल क्लबमाथि २-१ गोल अन्तरको पूनरागमन जित निकालेको हो ।
रोमान्चक खेलमा विभागीय टोली पुलिसको जितमा घानाका फरवार्ड मोसेस ग्याबाहले खेलको अन्त्यतिर सात मिनेटको अन्तरमा दुई गोल गरेका थिए । मछिन्द्रका लागि ओलावाले ओलाडिपो अफिजको सुरुआती गोल सान्त्वना बन्यो । पुलिसले एक गोलको अग्रता उल्टाएर मछिन्द्रलाई हराएको हो ।
खेलको २७ औं मिनेटमा छिरिङ गुरुङको क्रसमा ओलावाले अफिजले चलाखी पूर्णगोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ७४ औं मिनेटमा मोसेस ग्याबाहले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै पुलिसलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
त्यसपछि, खेलको ८१ औं मिनेटमा मोसेसले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २-१ गोलको रोमान्चक जित दिलाएका थिए । जितसँगै पुलिसले पहिलो लेगमा मछिन्द्रविरुद्ध २-१ गोलले ब्यहोरेको हारको बदला लिएको छ । उत्कृष्ट प्रदर्शन गरेका पुलिसका मोसेस ग्याबाह खेलको ‘म्यान अफ द म्याच’ भए ।
लगातार पाँचौं खेल जितेको पुलिस २४ खेलबाट ११ जित, ४ बराबरी र ९ हारका साथ ३७ अंक जोड्दै चौंथो स्थान रहेको छ । समान खेलमा ३७ अंक नै रहेपनि जावलाखेल गोल अन्तरले तेस्रो स्थानमा रहेको छ । पुलिससँगको हारसँगै मछिन्द्रको उपाधि होडमा धक्का लागेकाे छ ।
पराजित मछिन्द्र २४ खेलमा १० जित, ९ बराबरी र ५ हारका साथ ३९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । दुई चरणको खेल बाँकी रहँदा मछिन्द्र चर्च ब्वाइजसँग ५ अंकले पछि परिसकेको छ । चर्च ब्वाइज २४ खेलबाट १२ जित, ८ बराबरी र ४ हारका साथ ४४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।