काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय आर्मीमाथि सातदोबाटोले जित निकालेको छ । ललितपुरस्थित च्यासल रंगशालामा शनिबार भएको खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
सातदोबाटोको जितमा शिव सुवेदी र दीपकराज सिंह ठकुरीले समान एक/एक गोल गरेका थिए । विभागीय आर्मीका नवयुग श्रेष्ठले एक गोल फर्काएका थिए । खेलको दोस्रो मिनेटमै निरज चौधरीको पासमा शिव सुवेदीले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको २८ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । खेलको २१ औं मिनेटमा आर्मीले पेनाल्टी पाएपनि सातदोबाटोका खेलाडीको असन्तुष्टिले सात मिनेटपछि मात्र नवयुगले पेनाल्टी प्रहार गर्दा सातदोबाटोका गोलकिपर अभिषेक बरालले बचाए पनि रिबाउन्डमा नवयुगले गोल गर्न सफल भएका थिए ।
त्यसपछि, खेलको ६३ औं मिनेटमा दीपकराज सिंह ठकुरीले पेनाल्टी मार्फत गोल गर्दै सातदोबाटोलाई २-१ को रोमाञ्चक जित दिलाएका थिए । आर्मीका दीपक गुरुङले पेनाल्टी बक्समा सुरज गुरुङलाई लडाएपछि रेफ्रीले पेनाल्टी प्रदान गर्दा दीपकराज चुकेनन् ।
सातदोबाटो र आर्मीले पहिलो लेगमा ३-३ गोलको बारबरी खेलेका थिए । जारी लिगमा सातदोबाटोको यो नवौं जित हो । जितसँगै सातदोबाटोको २४ खेलबाट ९ जित, ५ बराबरी र १० हारका साथ ३२ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ । पराजित आर्मी २४ खेलमा ७ जित, ९ बराबरी र ८ हारका साथ ३० अंक जाेडेर साताैं स्थानमा रहेको छ ।
विभागीय एपीएफ र थ्री स्टारले बराबरी खेल्दै अंक बाडे
दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा एपीएफ फुटबल क्लब र थ्री स्टार क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । खेलको २३ औं मिनेटमा कप्तान नविन लामाको पासमा मणि कुमार लामाले उत्कृष्ट गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ८६ औं मिनेटमा योगेश गुरुङको क्रसमा सुनिल तामाङले गोल गर्दै थ्री स्टारलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । पहिलो लेगमा एपिएफले थ्री स्टारलाई २-० गोल अन्तरले पराजित गरेको थियो । थ्री स्टार पछिल्लो १३ खेलसम्म जितविहीन बनेको छ ।
यस बराबरीसँगै थ्री स्टार २४ खेलबाट ६ जित, १० बराबरी र ८ हारका साथ २८ अंक जाेडेर ११ औं स्थानमा रहेको छ । थ्री स्टार रेलिगेसन क्षेत्रमा रहेको टोलीभन्दा २ अंकले मात्रै अघि छ । एपिएफ २४ खेलमा ८ जित, ६ बराबरी र १० हारका साथ ३० अंक जोडेर नवौं स्थानमा रहेको छ ।