काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेलमाथि चर्च ब्वाइजले शानदार जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा एपी पावर चर्च ब्वाईज युनाईटेडले जावलाखेल युथ क्लबलाई ३-० गोल अन्तरले हराएको हो ।
चर्च ब्वाइजको शानदार जितमा आशिष चौधरीले दुई गोल तथा अन्जन विष्टले एक गोल गरेका थिए । जितसँगै लिग लिडर चर्च ब्वाइजले उपाधि सम्भावनालाई थप बलियो बनाएको छ भने जावलाखेल लिगको उपाधि होडबाट बाहिरिएको छ ।
पहिलो हाफको ईन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा अन्जन विष्टले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए । चर्च ब्वाइजका रन्जित सिंह पान्द्रेलाई पेनाल्टी बक्समा राहुल राहुलले लडाएपछि प्राप्त पेनाल्टीमा अन्जनको प्रहार जावलाखेलका गोलरक्षक ईश्वर गुरुङले बचाएपनि रिवाउण्ड बलमा अन्जनले गोल गर्न सफल भएका थिए ।
खेलको ८८ औं मिनेटमा कमल श्रेष्ठको क्रसमा आशिष चौधरीले उत्कृष्ट हेडर गोल गर्दै चर्च ब्वाइजलाई २-० को अग्रता दिलाएका थिए । त्यसपछि, खेलको इन्जुरी समयको दोस्रो मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै चर्च ब्वाइजलाई ३-० को शानदार जित दिलाएका थिए ।
जितसँगै चर्च ब्वाइजले जावलाखेलविरुद्ध पहिलो लेगमा ब्यहोरेको १-० को हारको बदला लिएको छ । उत्कृष्ट प्रदर्शन गरेका चर्च ब्वाइजका आशिष चौधरी खेलको ‘म्यान अफ द म्याच’ भए । जारी लिगमा चर्च ब्वाइजको यो १२ औं जित हो ।
जितसँगै चर्च ब्वाइज २४ खेलबाट १२ जित, ८ बराबरी र ४ हारका साथ ४४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । चर्च ब्वाइजले दुई चरणको खेल बाँकी रहँदा शीर्षस्थानमा ५ अंकको अग्रता बनाएको छ । पराजित जावलाखेल २४ खेलमा १० जित, ७ बराबरी र ७ हारका साथ ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।