काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली एपिएफमाथि चर्च ब्वाइजले शानदार जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा एपी पावर चर्च ब्वाईज युनाईटेडले नेपाल एपिएफ फुटबल क्लबलाई ४-१ गोल अन्तरले हराएको हो ।
लिग लिडर चर्च ब्वाइजको शानदार जितमा कप्तान अनन्त तामाङले दुई गोल गरे । त्यस्तै, मौषम सुब्बा र आशिष चौधरीले समान एक/एक गोल थपेका थिए । एपीएफका आवाश लामिछानेले एक गोल फर्काएका थिए । जितसँगै चर्च ब्वाईजले लिगको शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ ।
खेलको तेस्रो मिनेटमानै रन्जित पान्द्रेको पासमा मौषम सुब्बाले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा मनोज राईको थ्रुबलमा फ्रान्कलिन कोटेटालाको पासमा अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर पारेका थिए ।
खेलको ५५ औं मिनेटमा मनोज राईकै थ्रुबलमा फ्रान्कलिन कोटेटालाकोनै पासमा अनन्तले व्यक्तिगत दोस्रो गोल गर्दै चर्च ब्वाइजलाई ३-० को अग्रता दिलाएका थिए । खेलको ८३ औं मिनेटमा अर्मान्ड विडोमको पासमा आवाश लामिछानेले गोल गर्दै एपीएफलाई ३-१ को स्थितिमा ल्याएका थिए ।
त्यसपछि, खेलको ८९ औं मिनेटमा मिलन राईको पासमा आशिष चौधरीले उत्कृष्ट गोल गर्दै चर्च ब्वाइजलाई ४-१ को शानदार जित दिलाएका थिए । पहिलो लेगमा चर्च ब्वाइज र एपिएफबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो । उत्कृष्ट प्रदर्शन गरेका चर्च ब्वाइजका कप्तान अनन्त तामाङ खेलको ‘म्यान अफ द म्याच’ भए ।
जारी लिगमा चर्च ब्वाइजको यो ११ औं जित हो । जितसँगै चर्च ब्वाइज २३ खेलबाट ११ जित, ८ बराबरी र ४ हारका साथ ४१ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पराजित एपिएफ २३ खेलमा ८ जित, ५ बराबरी र १० हारका साथ २९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।