काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पालाई हराउँदै रेलिगेसन क्षेत्रको खुमलटारले सातौं जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा एफसी खुमलटारले हिमालयन शेर्पा क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
खुमलटारको जितमा मेसुके ओलोमोउ र स्टेफन समिर बिनोङले समान एक/एक गोल गरेका थिए । हिमालयन शेर्पाका लागि म्यानुयल नानाले एक गोल गरे । जितसँगै खुमलटारले हिमालयन शेर्पासँग पहिलो लेगमा ब्यहोरेको २-१ गोलको हारको बदला लिएको छ ।
खेलको छैटौं मिनेटमा खमिर गिल्सनको कर्नरमा म्यानुयल नानाले हेडरगोल गर्दै हिमालयन शेर्पालाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको १७ औं मिनेटमा जय गुरुङको फ्रिकिकमा अभिषेक लिम्बुको हेडरमा मेसुके ओलोमोउले गोल गर्दै खुमलटारलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
खेलको ६९ औं मिनेटमा ओलोमोउ पेनाल्टीमा चुक्दा खुमलटारले अग्रता लिने सुनौलो अवसर गुमायो । ओलोमोउको पेनाल्टी प्रहारलाई हिमालयन शेर्पाका गोलकिपर किशोर गिरीले बचाएका थिए । खुमलटारका अनिल राईको प्रहारलाई अमृत श्रेष्ठले पेनाल्टी बक्स भित्र ह्यान्ड गरेपछि पेनाल्टीको अवसर प्राप्त भएको थियो ।
त्यसपछि, खेलको ७६ औं मिनेटमा स्टेफनले गोल गर्दै खुमलटारलाई २-१ को रोमान्चक जित दिलाएका थिए । ओलोमोउको क्रसलाई हिमालयन शेर्पाका सुरेश कुमालले हेडमार्फत बचाउन खोज्दा प्राप्त रिबाउन्ड बलमा स्टेफनले उत्कृष्ट गोल गरेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका खुमलटारका अभिषेक लिम्बु ‘म्यान अफ द म्याच’ भए ।
जारी लिगमा खुमलटारको यो सातौं जित हो । जितसँगै खुमलटार २२ खेलबाट ७ जित, ३ बराबरी र १२ हारका साथ २४ अंक जोडेर पुछारमै यथावत रहेको छ । पराजित हिमालयन शेर्पा २२ खेलमा ७ जित, ८ बराबरी र ७ हारका साथ २९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।