काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टारलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लबले छैटौं जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा मनाङले थ्री स्टार क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
मनाङको जितमा पहिलो हाफमा चेतन कुमार थारुले गरेको गोल नै निर्णायक बन्यो । खेलको ३८ औं मिनेटमा चेतनले गोल गर्न सफल भएका थिए । सोही गोल नै मनाङलाई स्पष्ट ३ अंक दिलाउन पर्याप्त बन्यो । खेलमा दुवै टोलीले गोलका केही अवसरहरु पाए पनि गोलमा परिणत भने गर्न सकेनन् ।
मनाङले ७ खेल बराबरी खेलेपछि जित निकालेको छ । मनाङ र थ्री स्टारबीच पहिलो लेगको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । मनाङको यो छैटौं जित हो । जितसँगै मनाङ २२ खेलबाट ६ जित, १० बराबरी र ६ हारका साथ २८ अंक जाेडेर दशौँ स्थानमा उक्लिएको छ । पराजित थ्री स्टार २२ खेलमा ६ जित, ८ बराबरी र ८ हारका साथ २६ अंक जाेडेर ११ औं स्थानमा झरेको छ ।
सातदोबाटोमाथि एनआरटीको जित
च्यासल मैदानमा आइतबार सम्पन्न खेलमा न्यु रोड टिम (एनआरटी) ले रोयल ब्लु सातदोबाटो युथ क्लबमाथि २-१ को जित निकालेको छ । एनआरटीको जितमा निकोलस सङ्ग र सनम लिम्बुले समान एक/एक गोल गरेका थिए । सातदोबाटोका लागि शिव सुवेदीले एक गोल फर्काएका थिए ।
एनआरटीले सातदोबाटोसँग पहिलो लेगमा ब्यहोरेको २-१ को हारको बदला लिएको छ । जितसँगै एनआरटी २२ खेलबाट ७ जित, ८ बराबरी र ७ हारका साथ २९ अंक जोडेको आठौं स्थानमा उक्लिएको छ । पराजित सातदोबाटोको २२ खेलमा ८ जित, ५ बराबरी र ९ हारका साथ २९ अंक जाेडेर छैटाैं स्थानमा झरेको छ ।