काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार तीन खेलहरु हुँदै छन् । दोस्रो लेगको नवौं चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ भने एउटा खेल ललितपुरस्थित च्यासल रंगशालामा हुनेछ ।
दशरथ रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र विभागीय टोली नेपाल एपिएफ क्लबबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । आज जावलाखेल दशौँ जितको खोजीमा हुनेछ भने एपिएफ आठौं जितको योजनामा हुनेछ । जावलाखेल र एपिएफबीच पहिलो लेगको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
जारी लिगमा जावलाखेल २१ खेलबाट ९ जित, ७ बराबरी र ५ हारका साथ ३४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । एपिएफ २१ खेलमा ७ जित, ५ बराबरी र ९ हारका साथ २६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
त्यस्तै, च्यासल रंगशालामा दिउँसो ३ बजे त्रिभुवन आर्मी फुटबल क्लबले मछिन्द्र फुटबल क्लबको सामना गर्नेछ । आज आर्मी आठौं जितको खोजीमा हुनेछ भने साबिक विजेता मछिन्द्र दशौँ जित सहित शीर्ष स्थानको चर्च ब्वाइजसँग अंक बराबरी गर्ने योजनामा हुनेछ ।
जारी लिगमा मछिन्द्र २१ खेलबाट ९ जित, ८ बराबरी र ४ हारका साथ ३५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । विभागीय आर्मी २१ खेलमा ७ जित, ८ बराबरी र ६ हारका साथ २९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
दशरथ रंगशालामा साँझ ६ बजे हुने अर्को खेलमा एपी पावर चर्च ब्वाईज युनाईटेड र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिग लिडर चर्च ब्वाइज आज ११ औं जितको खोजीमा हुनेछ भने संकटा छैटौं जितको योजनामा हुनेछ । चर्च ब्वाइज र संकटाबीच पहिलो लेगको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
जारी लिगमा चर्च ब्वाइज २१ खेलबाट १० जित, ८ बराबरी र ३ हारका साथ ३८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । संकटा २१ खेलमा ५ जित, ८ बराबरी र ८ हारका साथ २३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।