हेटौडा । काभ्रे जिल्ला जारी दोस्रो बागमती प्रदेश खेलकुद अन्तर्गत आइटिएफ तेक्वान्दो टिममा च्याम्पियन भएको छ । हुप्रा चौरमा मंगलबार सम्पन्न आइटिएफ तेक्वान्दोमा कुल १० स्वर्ण, ६ रजत र एक कांस्यसहित टिम च्याम्पियन भएको हो ।
दुई दिनसम्म चलेको आइटिएफमा कुल २९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्याटर्नतर्फ १२ स्वर्ण र फाइटमा १७ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । पुरुषमा चितवनका आरएन महतो र महिला चितवनकै सुस्मिता तामाङ उत्कृष्ट खेलाडी भए । चितवन ६ स्वर्ण, दुई रजत र दुई कांस्यसहित दोस्रो भयो । तेस्रो स्थानको भक्तपुरले पाँच स्वर्ण, आठ रजत र दुई कांस्य प्राप्त गर्यो ।
त्यस्तै चौथो स्थानमा रहेको काठमाडौंले चार स्वर्ण, तीन रजत र पाँच कांस्य पदक जित्यो । ललितपुरले तीन स्वर्ण, पाँच रजत र ९ कांस्य पदक जित्दै पाँचौं स्थानमा रह्यो । नुवाकोटले एक स्वर्ण र चार कांस्य पदक प्राप्त गर्यो । विजेता खेलाडी तथा टिमलाई सामाजिक विकास मन्त्री कुमारी मोक्तान र बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले पुरस्कृत गरेका थिए । प्रतियोगितामा स्वर्ण विजेताले पाँच हजार, रजतले चार हजार र कांस्य विजेताले तीन हजार नगद पुरस्कार प्राप्त गरे ।
तेक्वान्दोमा काठमाडौं टिम च्याम्पियन
काठमाडौं दोश्रो बागमती प्रदेश खेलकुद अन्तर्गत तेक्वान्दोमा टिम च्याम्पियन बनेको छ । काठमाडौं ८ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो । हुप्राचौरमा भएको प्रतियोगितामा ३ स्वर्ण, २ रजत र २ कांस्यसाथ नुवाकोट दोश्रो भयो । तेश्रो स्थानको ललितपुरले २ स्वर्ण, २ रजत र १ कांस्य हात पारेको तेक्वान्दोका मुख्य प्रशिक्षक एवं तेक्वान्दोका संयोजक नवीनकुमार श्रेष्ठले जनाएका छन् । प्रतियोगिताको पुरुषमा नुवाकोटका धनबहादुर तामाङ तथा महिलामा सिन्धुपाल्चोककी सुस्मिता तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।