काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आर्मी र खुमलटारले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र एफसी खुमलटारले २-२ गोलको रोमान्चक बराबरी खेल्दै अंक बाडेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा विभागीय टोली आर्मीले दुई पटकको अग्रता जोगाउन नसक्दा पुछारको खुमलटारसँग अंक बाँड्न बाध्य बन्यो । आर्मीका जगजित श्रेष्ठ र नवयुग श्रेष्ठ समान एक/एक गोल गर्दै दुई पटक अग्रता लिएपनि खुमलटारका मोसुके ओलोमाउ र स्टेफेन समिर बिनोङले समान एक/एक बराबरी गोल फर्काएका थिए ।
खेलको १४ औं मिनेटमा जगजित श्रेष्ठले फ्रिकिक मार्फत गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । जगजितको प्रहारलाई खुमलटारका गोलकिपर आशिष मोक्तानले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा गोल भएको थियो ।
तर, खेलको ३५ औं मिनेटमा मेसुके ओलोमाउले गोल गर्दै खुमलटारलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । राजिव लोप्चनको क्रसलाई आर्मीका गोलकिपर विकेश कुथुले पन्च गर्दा प्राप्त बललाई ओलोमाउले पोस्टको दिशा दिएका थिए ।
त्यसपछि, खेलको ५१ औं मिनेटमा दिनेश हेन्जनको पासमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई पुन: २-१ को अग्रता दिलाएका थिए । तर, खेलको ७५ औं मिनेटमा स्टेफेन समिरले गोल गर्दै खुमलटारलाई २-२ गोलको बराबरीमा ल्याएर हारबाट जोगाएका थिए । आर्मीविरुद्ध पहिलो लेगमा खुमलटार ३-२ ले विजयी भएको थियो ।
आर्मीका नवयुग श्रेष्ठ खेलको ‘म्यान अफ दी म्याच’ चुनिए । बराबरीसँगै आर्मी १९ खेलबाट ६ जित, ८ बराबरी र ५ हारका साथ २६ अंक जोडेर छैटौं स्थानमा यथावत रहेको छ । खुमलटार १९ खेलमा ५ जित, ३ बराबरी र ११ हारका साथ १८ अंक जोडेर अंक तालिकाको पुछरमा रहेको छ ।