काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज मंगलवार तीन खेलहरु हुँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ भने एउटा खेल ललितपुरस्थित च्यासल रंगशालामा हुनेछ ।
च्यासल रंगशालामा नेपाल पुलिस क्लब सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ । विभागिय डर्बीमा रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको पुलिस र उपाधि होडमा रहेको एपीएफबीचको भिडन्त रोमाञ्चक हुनेछ । विदेशी खेलाडीको आगमनसँगै पछिल्लो खेलमा संकटामाथि २-१ को जित निकाल्दै पुलिस रेलिगेसनबाट बाहिर निस्किएको थियो ।
जारी लिगमा एपिएफ १७ खेलमा ६ जित, ४ बराबरी र ७ हारका साथ २२ अंक जोडेर दसैँ स्थानमा रहेको छ । पुलिस १७ खेलबाट ५ जित, ४ बराबरी र ८ हारका साथ १९ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
त्यस्तै, दशरथ रंगशालामा दिउँसो ३ बजेनै हुने खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लब आमुने सामुने हुँदैछन् । पाँचौ स्थानको थ्री स्टार र छैटौं स्थानको आर्मी बीच आजको भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
जारी लिगमा थ्री स्टार १७ खेलमा ६ जित, ७ बराबरी र ४ हारका साथ २५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । विभागीय टोली आर्मी १७ खेलबाट ६ जित, ६ बराबरी र ५ हारका साथ २४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
त्यस्तै, दशरथ रंगशालामा नै आज साँझ ६ बजे हुने अर्को खेलमा उपाधि होडमा प्रतिस्पर्धा गरिरहेको एपी पावर चर्च ब्वाईज युनाईटेड र रोयल ब्लु सातदोबाटो युथ क्लब भिड्नेछन् । पछिल्लो खेलमा चर्च ब्वाइज आर्मीसँग १-० ले स्तब्ध भएको थियो । सातदोबाटोले पछिल्लो खेलमा एपिएफलाई ३-० ले हराएको थियो ।
जारी लिगमा चर्च ब्वाइज १७ खेलबाट ८ जित, ६ बराबरी र ३ हारका साथ ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । सातदोवाटो १७ खेलमा ७ जित, ५ बराबरी र ५ हारका साथ २६ अंक जोडेर चौथो स्थानमा रहेको छ ।