काठमाडौँ । नेपालमा जेठ दोस्रो सातादेखि आयोजना हुन लागेको काभा महिला भलिबल च्यालेन्ज कपको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मलेन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।
प्रतियोगिता जेठ ८ गतेदेखी १४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुनेछ । प्रतियोगितामा सहभागी ८ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा घरेलु टोली नेपाल, भारत, बंगलादेश र किर्गिस्तान रहेका छन् । यस्तै समूह ‘बी’ मा श्रीलंका, मालदिभ्स, काजाकिस्तान र उज्वेकिस्तान रहेका छन् । प्रतियोगितामा सहभागि हुने टोलीका लागि सबै व्यवस्थपन अन्तिम चरणमा पुगेको र सहभागि देशले नेपाल भ्रमण गर्ने तालिका पठाइसकेको संघको अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।
आयोजक नेपालले उद्घाटन खेलमा कीर्गिस्तानसँग खेल्नेछ । सोही दिन उज्वेकिस्तान र श्रीलंका, बंगलादेश र भारत तथा माल्दिभ्स र काजकिस्तानबीच खेल हुनेछ । नेपालले दोस्रो खेल जेठ ९ गते बंगलादेशसँग, र तेस्रो खेल जेठ १० गते भारतसँग खेल्नेछ ।
राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिष्पर्धा गर्नेछन् । कुल २० खेल हुने च्यालेन्ज कपको लागि १४ सदस्यीय नेपाल टोली घोषणा भइसकेको छ । घरेलु भूमिका आयोजना हुने लागेको प्रतियोगिताका लागि नेपाली महिला टोलीको तयारी अन्तिम चरणमा पुगेको नेपाली टोलीका प्रशिक्षका जगदीशप्रसाद भट्टले जानकारी दिए ।
प्रतियोगितालाई सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद्ले बिशेष सहयोग प्रदान गरेको छ । यस्तै अन्य सहयोगी संघ संस्थाहरुमा राष्ट्रिय बाणिज्य बैंक, केल्मी नेपाल, अभिवादन ट्राभल्स एण्ड टुर्स, प्रवर्धन पार्टनरको रुपमा नेपाल पर्यटन बोर्ड, हस्पिटालिटी पार्टनरको रुपमा हायात प्यालेस, कम्युनिकेसन पार्टनरमा नेपाल टेलिकम, मिडिया पार्टनरमा हाम्रो खेलकुद, मेडिकल सपोर्टरमा फ्रन्टलाईन हस्पिटल, मार्केटिङ्ग एण्ड ईभेन्ट पार्टनर १०० स्पोर्टस् छन् ।
त्यस्तै, बिद्यालय भलिबल कमिसन, होटल क्राउन प्लाजा-नक्साल, ढोरपाटन स्पोर्टस् क्लब, न्यु डायमन्ड स्पोर्टस् क्लब, काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल एयरलाईन्स, नेपाल भलिबल संघ कोरिया, अष्ट्रेलिया, जापान, अमेरिका लगायत देशबाट सहयोग रहेको छ । यस्तै, आर्थिक सहयोग गर्ने क्रममा संघका निर्वतमान अध्यक्ष मनोरन्जनरमण शर्माले १ लाख र विद्यालय भलिबल कमिसनले ७५ हजार रुपैयाँ संघका कोषाध्यक्ष श्याम श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
एक सातासम्म चल्ने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल र समापन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले गर्ने भलिबल संघले जनाएको छ । २ करोड ७१ लाख अनुमानित बजेट रहेको प्रतियोगिताका लागि आयोजकले विभिन्न समिति बनाएर तयारी गरेको बताइएको छ । प्रतियोगिता आयोजनलाई विभन्न संस्थाले सहयोग रकम पनि प्रदान गरिरहेका छन् । नेपालले यसअघि पुरुषतर्फको सेन्ट्रल एशियन जोन भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो ।