काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार तीन खेलहरु हुँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ भने एउटा खेल ललितपुरस्थित च्यासल फुटबल मैदानमा हुनेछ ।
आज च्यासल फुटबल मैदानमा मछिन्द्र फुटबल क्लब र थ्री स्टार क्लबबिच दिउँसो तीन बजे प्रतिस्पर्धा हुनेछ । उपाधि होडमा प्रतिस्पर्धा गरिरहेका साबिक विजेता मछिन्द्र र थ्री स्टारलाई शनिबारको खेल महत्वपुर्ण हुनेछ । पहिलो लेगमा यी दुईबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
जारी लिगमा थ्री स्टार १६ खेलबाट ६ जित, ७ बराबरी र ३ हारका साथ २५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । मच्छिन्द्र १६ खेलमा ६ जित, ६ बराबरी र ४ हारका साथ २४ अंक जोडेर चौथों स्थानमा रहेको छ ।
उता, दशरथ रंगशालामा दिउँसो तीन बजेनै हुने खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध एपी पावर चर्च ब्वाइज युनाइटेडको लक्ष्य लिगको शीर्ष स्थानमा उक्लिने हुनेछ । पहिलो लेगमा चर्च ब्वाइजले आर्मीविरुद्ध १-० को पराजय ब्यहोरेको थियो ।
जारी लिगमा चर्च ब्वाइज १६ खेलबाट ८ जित, ६ बराबरी र २ हारका साथ ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । विभागीय टोली आर्मी १६ खेलमा ५ जित, ६ बराबरी र ५ हारका साथ २१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
त्यस्तै, दशरथ रंगशालामा नै आज साँझ ६ बजे हुने अर्को खेलमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लब आमुने सामुने हुँदैछन् । पहिलो लेगमा एपिएफविरुद्ध सातदोबाटो १-० ले विजयी भएको थियो ।
जारी लिगमा सातदोवाटो १६ खेलबाट ६ जित, ५ बराबरी र ५ हारका साथ २३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । विभागीय टोली एपिएफ १६ खेलमा ६ जित, ४ बराबरी र ६ हारका साथ २२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।