काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा खुमलटारमाथि एनआरटीले नाटकीय पुनरागमन जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा पहिलो हाफमा २-० ले पछि परेको न्युरोड टिम एनआरटीले एफसी खुमलटारमाथि ३-२ गोल अन्तरको रोमाञ्चक जित निकालेको हो ।
एनआरटीलाई पुनरागमन जित दिलाउन विक्रम धिमाल र निकोलस संगले समान एक/एक गोल गर्दा एक गोल आत्मघाती उपहार प्राप्त भयो । खुमलटारका लागि स्टेफन समिर विनोङ र राजिव लोप्चनले समान एक/एक गोल गरेका थिए ।
खेलको ३१ औं मिनेटमा रेजिन सुब्बाको पासमा स्टेफन समिर विनोङले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा विनोङको पासमा राजीव लोप्चनले गोल गरेपछि खुमलटार पहिलो हाफमा २-० को आरामदायी अवस्थामा रहेको थियो ।
तर, खेलको ६२ औं मिनेटमा सरोज तामाङको कर्नरमा विक्रम धिमालले हेडमार्फत गोल गर्दै एनआरटीलाई २-१ को स्थितीमा ल्याएका थिए । ६४ औं मिनेटमा निकोलस संगको क्रममा लालुन्जामाले गरेको प्रहार खुमलटारका गोलकिपर देवले समाउने प्रयास गर्दा आफ्नै पोस्टभित्र छिराएपछि एनआरटी २-२ गोलको बराबरीमा आयो ।
खेलको ८३ औं मिनेटमा दिपेश आले मगरको पासमा निकोलस संगले गोल गरेपछि एनआरटीले ३-२ गोल अन्तरको रोमाञ्चक जित निकाल्न सफल भयो । एनआरटीले पहिलो लेगमा खुमलटारमाथि ३-१ गोल अन्तरको सहज जित निकालेको थियो ।
जितसँगै एनआरटी १७ खेलबाट ५ जित, ६ बराबरी र ६ हारका साथ २१ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित खुमलटार १७ खेलमा ५ जित, २ बराबरी र १० हारका साथ १७ अंक जोडेर अंक तालिकाको पुछरमा रहेको छ ।